सिण्डिकेटको पक्षमा सवारी नचलाउनेको रुट पर्मिट पहिलो दिनमा नै खारेज हुने


यातायात व्यवस्था विभागले सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट सेवा रोकेको पहिलो दिनमै खारेज गर्ने तयारी गरेको छ। सोही संबन्धमा यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई हड्ताल गर्ने सवारेको विवरण लिन अनुरोध गरेको छ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार सेवा रोक्ने सवारीको विवरण संकलन गरी सोही दिन नै उनीहरुको रुट पर्मिट खारेज गर्ने तयारी भइरहेको छ। सरकारले यस विषयमा शुन्य सहनशीलता अपनाउने कुरा उनले थपे।

‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्,’ महानिर्देशक भट्टराईले भने।

आन्दोलनको नाममा सार्वजनिक सवारी रोक्नु अपराध भएकोले गृह प्रशासनले पनि सोही अनुरूप कारवाही गर्ने उनले जानकारी दिए। यस अघि नै गृहमन्त्रीले सार्वजनिक सवारी साधन रोकिएमा नियन्त्रणमा लिएर चलाउन तयार हुन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइसकेका छन्।

आन्दोलन भएमा आम सर्वसाधारणलाई असहजता नहोस् भनेर विभागले आफ्नै किसिमको तयारी थालीसकेको छ। विभागले आन्दोलन भएमा कति प्रतिशत गाडी सडकमा हुनेछन् भन्ने विवरण लिइरहेको छ।

विभागका अनुसार ६० भन्दा वेसी कम्पनीहरुले बन्दको बेलामा पनि सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन्। यसका साथै पर्यटक बस पनि प्रयोग गर्ने योजना रहेको छ। सुरक्षा निकायहरुको सवारी साधनलाई प्रयोग गर्न सक्ने विकल्प पनि सरकारसँग यथावत छ।

 

Loading...