अब कुनै क्षेत्रमा सिन्डिकेट रहँदैन, गर्नेलाई जेलमा हाल्छौं – मन्त्री यादव


उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले सबै खाले सिण्डिकेटहरुको अन्त्य गर्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री यादवले आफ्नो मन्त्रालयको मातहतमा रहने हरेक क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने कुरा स्पष्ट पारेका हुन्।

गृह मन्त्रालयबाट सुरु गएको अभियानले यातायात क्षेत्रको सिण्डिकेट हटाउन सफलता पाएको छ। यातायात व्यवसायीहरू सिण्डिकेट हटाउने सरकारी निर्णयमा साथ दिन तयार भएका छन्। यस कार्यमा सहयोग गर्ने सबै पक्षलाई मन्त्री यादवले धन्यवाद दिएका छन्। उनले भने, ‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं।’

नेपालमा अब कुनै पनि किसिस्मको सिण्डिकेट स्वीकार्य नहुने बताउदै उनले सिण्डिकेट गर्ने जो कोहीलाई पनि जेलमा हाल्ने चेतावनी पनि दिएका छन्।

पेट्रोलियम पदार्थमा सिण्डिकेट रहेको भन्ने प्रश्नमा उनले नेपाल आयल निगम मार्फत सरकारले नै पेट्रोलियम पदार्थको काम संचालन गरिरहेको हुनाले यसलाई सिण्डिकेट भन्न नमिल्ने बताएका छन्। पेट्रोलियम पदार्थमा पनि प्रतिष्पर्धा चाहेको मन्त्री यादवले बताए।

Loading...