नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो


सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

२७४ सिट भएको एयरबसको ए ३३०–२०० सिरिजको वाइड बडी जहाजलाई एयरबसकै पाइलटले उडाएर नेपाल ल्याएका हुन्। यस जहाजमा २–२–२ फर्म्याटका १८ बिजनेस क्लास, २–४–२ फर्म्याटका इकनोमी क्लासका सिट छन्।

लामो दुरीको यात्रा गर्न सक्ने यस जहाजसँगै अब नेपाल एयरलाइन्ससँग २ ओटा वाइडबडी जहाज भएको छ। नेपाल एयरलाइन्सकाप्रबन्धक निर्देशक सुगरत्न कंसाकारका अनुसार यी २ जहाजले नेपाललाई बाकी विश्वसँग सिधा रुपमा जोड्ने छन्। यी जहाज नेपालको पर्यटन क्षेत्रको विकासमा पनि कोशेढुंगा सावित हुनेछन्।

आज भित्रिएको जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नाइन एन एलजे दर्ता नम्बर पाएको छ भने यसलाई मकालु नाम दिइएको छ।

जहाज भित्र्याउने चुनौती सकिए पनि नेपाल एयरलाइन्सलाई अर्को चुनौती भने छँदै छ। एयरलाइन्ससँग अहिले प्रयाप्त पाइलट छैनन्। एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। नेपालमा आवश्यक जनशक्ती नभएकाले एयरलाइन्सले विदेशबाट पाइलट ल्याउने प्रक्रिया अगाडी बढाएको छ।

 

Loading...