सुनौली नाकामा भारतीय अवराेध, भारतको अर्को अघोषित नाकाबन्दी?


मधेश आन्दोलनको ताका भएको भारतीय नाकाबन्दीको बेलामा समेत तुलनात्मक रुपमा सहज रहेको सुनौली नाकामा बिगत ८ महिनादेखि भारतीय पक्षले अनेक वाहनामा अवरोध सिर्जना गरिरहेका छ। यही अवरोधको कारण त्यहाँ २१ किलोमिटर सम्म लामो नेपाली गाडीहरुको लाइन देखिन्छ।

सामान्य अवस्थामा दैनिक ५५० मालबाहक गाडीहरु नेपाल भित्रने यस नाकाबाट हाल मुस्किलले ३०० गाडीहरु मात्रै नेपाल छिर्न पाइरहेका छन्। हप्तादिन सम्म पनि सिमामा नै रोकिन परेको गुनासो नेपाली व्यवसायीहरु गर्दछन्।

गाडीहरुले ५ हजार देखि ७ हजार नगद भारतीय प्रहरीलाई घुस दिएमा मात्र गाडी भारतीय चेकपोइण्टबाट अघि बढ्न पाउछन्। नत्र कैयौं दिनसम्म लाममा नै बिताउनु पर्छ। यसरी लाममा बस्दा पनि दैनिक रु. २५०० ‘डिटेन्सन चार्ज’ स्वरुप तिर्नु पर्ने हुन्छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने भन्छन्, “कनेक्सन मिलाएर भारतीय प्रहरीलाई पैसा दिन सकियो भने छोडिदिन्छन्। नत्र सात दिनसम्म पनि छोड्दैनन्।”

भारतीय सुरक्षाकर्मीहरुको अनावश्यक अवरोधको कारण पिडित बनेका ब्यापारीहरुले वैकल्पिक नाकाको रुपमा कृष्णनगर लगायतका नाका प्रयोग गर्न थालेका छन्।

सुनौली नाकामा अवरोध सिर्जना भएपछी यसले राजस्वमा पनि ठुलो क्षती गरिरहेको छ| चालू आर्थिक वर्षको शुरूको ६ महीनामा रु.३७ अर्ब ४६ करोड १२ लाख लक्ष्य तोकिएको भैरहवा भन्सार कार्यालयले रु.३३ अर्ब ४ करोड ९९ लाख मात्रै संकलन गर्न सकेको छ।

(श्रोत: नेपाली टाइम्सको लागि दीपक ज्ञावालीको रिपोर्टमा आधारित)

Loading...