सेनाले बिस्पोटक पदार्थ उपलब्ध गराउन नसक्दा कान्ती लोकपथ निर्माणमा ढिलाई


हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको निर्माणाधीन कान्ति लोकपथको निर्माणमा विष्फोटक पदार्थको अभावका कारण समस्या परिरहेको आयोजना प्रमुख देबेन्द्रप्रसाद साहले बताए।

साहका अनुसार मार्ग विस्तारका लागि कडा चट्टान फुटाउन विष्फोटक पदार्थको अत्यावश्यक छ। तर निर्माणले पूर्णता पाउने अन्तिम चरणमा रहेका बेलामा विस्फोटक पदार्थको अभाव भएकाले गम्भीर समस्या परेको छ।

नेपाली सेनाले दुई वर्षअघि नै पाँच टन विष्फोटक पदार्थ दिने सहमति जनाएको थियो । तर, अभाव भएको बताउँदै सेनाले अझै विष्फोटक पदार्थ दिएको छैन। विष्फोटक पदार्थ नपाएपछी साँघुरो सडक भएका स्थानमा वान-वे सवारी चलाउन सकिने गरी कार्तिकसम्म सडक खुला गर्ने काममा लागेको साहले बताए।

कान्ती लोकपथको विभिन्न खण्डमा ठूला चट्टानहरूको अवरोध छ। योजना अनुसार ती चट्टान हटाएर सडक विस्तार गर्दै कालोपत्रे गर्नु पर्ने थियो। तर विष्फोटकको अभाव भएपछी अहिले चट्टान हटाउने काम छुट्टै प्याकेजमा राखेर काम सडक खुला गर्ने गरीकाम भइरहेको छ।

आयोजना अन्तरगत हाल १३ वटा प्याकेजमा काम भइरहेको छ जसमध्य मकवापुरतर्फको कुल ५१ किलोमिटरमा १६ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सकिएको छ । ललितपुरतर्फ भने डेढ किलोमिटर मात्र  कालोपत्रे भएको छ ।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइ रहेको यस लोकमार्ग साढे आठ मिटर चौडा बनाइनेछ । यस मार्गमा दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ।

यस आयोजनाका लागि यो वर्ष ४९ करोड रुपैयाँ बजेट छुट्याइएको थियो भने आगामी आर्थिक वर्षका लागि ४० करोड बजेट प्रस्ताव गरिएको छ ।

(अनलाइन खबरमा आज प्रकाशित समाचारको सहयोगमा)

 

Loading...