स्मार्ट सिटीको बारेमा सिक्न ३ मेयर ताइवानमा, को को हुन् ३ मेयर?


नेपालको राजनीतिक वृत्तमा स्मार्ट सिटीको बारेमा धेरै चर्चा हुने गरेको छ। यस्तैमा नेपालका ३ मेयरहरू अहिले ताइवानको ताइपेइ शहरमा स्मार्ट सिटीको बारेमा सिक्नमा व्यस्त थिए।

ताइपाईमा चैत्र १२ देखि १५ गते सम्म भएको स्मार्ट सिटीसम्बन्धी सम्मेलनमा नेपालका ३ मेयर सहित ५० भन्दा धेरै देशका १५० भन्दा धेरै मेयरहरूले सहभागीता जनाएका थिए।

को को हुन् त नेपालका ३ मेयरहरू?

उक्त सम्मेलनमा नेपालबाट सहभागी भएका मेयरहरू हुन्:

  • पोखरा महानगरपालिकाबाट मानबहादुर जिसी,
  • तुलसीपुर उपमहानगरपालिकाबाट घनश्याम पाण्डे र
  • धनगढी उपमहानगरपालिकाबाट नगर प्रमुख नृपबहादुर अड।

प्रविधिको विकाससँगै आम नगरवासीको सहजता र सुरक्षाको उचित प्रबन्ध मिलाउन स्मार्ट सिटीको प्रक्रियामा अगाडी बढ्नु पर्ने उनीहरुको भनाई छ। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अनुसार हरेक कुरा तत्कालै पोखरामा गर्न नसकिएपनि ठाउँ अनुकुल स्मार्ट सिटीको प्रक्रियामा भने अघि बढिनेछ। पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्न यस वर्षको बजेटमा नै ५० लाख रुपैयाँ छुट्याइएको र अन्य प्राविधिक विकासको लागि अर्को १ करोड छुट्याइएको उनले बताए।

उता तुलसीपुर उपमहानगरपालिकाले पनि स्मार्ट सिटीको आधारसिला निर्माणको लागि यस वर्ष १ करोडको बजेट विनियोजन गरेको त्यहाँका मेयर घनश्याम पाण्डे बताउँछन्।

सम्मेलनमा सहभागी मेयरहरुलाई ताइवानमा निर्माण भएका स्मार्ट लाइव्रेरी, स्मार्ट कर प्रणाली, स्मार्ट रेल सेवा र बस सेवा, स्मार्ट शिक्षा लगायत विभिन्न क्षेत्रका बारेमा अवलोकन गराइएको थियो ।

(अनलाइन खबरको लागि  बसन्त विवश आचार्यबाट तयार गरिएको रिपोर्टमा आधारित )

Loading...