सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा


 

मिति : २०७३ कार्तिक ३
समय : रातको १२ बजेर ४५ मिनेट।
स्थान : भक्तपुर, सूर्यविनायक

भक्तपुर सूर्यविनायकबाट १० किलोमिटर पूर्वतिरको बस्ती मध्यरातमा जागा नै छ। जेनेरेटरको कर्कसलाग्दो आवाज चर्कोसँग आइरहेको छ। जताततै इँटाका चाङ। भट्टाको चिम्नीबाट निस्किरहेको धुँवाको मुस्लोले कार्तिकको कालो रातमा झन् कालो पोतिरहेको छ।

इँटा बनाउँदा निस्केको ढ्याक — ढ्याक आवाजले सुनसान रातलाई कोलाहलमय बनाएको छ। बस्तीका अन्य मानिसहरु जस्तै सागर मानन्धरको पति-पत्नी पनि इँटा बनाइरहेका छन्।

जाडो सुरु भइसकेको छ। स्याँठ पनि उत्तिकै। चिसोको यस्तो मौसमले उनीहरुलाई फरक पारेको छैन।

+++

‘केही पाउनु छ भने केही गुमाउनुपर्छ।’
इँटा बनाउँदै सागर बोलिरहेका छन्। चिसो रातमा पसिनाले निथ्रुक्क छन् उनी।

उनीहरु खाना खाएर ८ बजे ओछ्यानमा पुग्छन्। निदाउने बेला ९ बजिसकेको हुन्छ। रातको ११ नबज्दै काम सुरु गर्नै पर्छ। दैनिक २० घण्टा काममा खट्छन्।

यो उनीहरुको दैनिकी हो।

‘म मात्रै होइन सबैलै २० घण्टा काम गर्छन्,’ सुनाए, ‘पैसा पनि धेरै नै छ। तर, पैसाकै लागि सबैले यो काम गर्न सक्दैनन्।’

दैनिक २० घण्टा काम। ४ घण्टा मात्र सुताई !

धेरैलाई आश्चर्य लाग्न सक्छ, तर, यो उनीहरुको  दैनिकी हो। उनीहरु यसरी नै वर्षौदेखि काम गरिरहेका छन्।

बिहानदेखि रातिसम्म काममै व्यस्त हुन्छन् उनीहरु। इँटा चाङ लगाउँदै र फेरि बनाउँदै दैनिकी बित्छ। आराम गर्ने समय भनेको खाना खाने बेलामात्र।

२ जनाले दैनिक ३ देखि ४ हजारसम्म इँटा बनाउँछन्। त्यो हिसाबले २ जनाले मासिक ८० देखि १ लाखसम्म कमाउन सक्छन्। तर,  मौसमले साथ नदिँदा यति धेरै पैसा हात पार्न मुस्किल हुने सागरको अनुभव छ।

‘काम अनुसार पैसा पनि बच्छ,’ उनले सुनाए, ‘बिरामी परिएन र पानी परेन भने हामीले त्यो भन्दा बढी कमाउन सक्छौ। त्यही भएर वर्षमा ६ महिना दुःख गर्छौं।’

+++

२०७३ : कार्तिक ९
दिउँसो :४ बजे

काँचो इँटाले बनाएको टहरा। टिनको छानो। साँघुरो  २ वटा कोठा। एउटा किचेन र्याक। भाडाहरु धेरै छैनन्। सानो २ वटा खाट। केही पनि नओछ्याएको चिसो भुई। त्यही कोठामा छन् उनीहरु।

सागर एक्लै छैनन्। पत्नी, दाजु विकास र भाउजु पनि सँगै बस्छन्। ६० भन्दा बढी परिवारहरु त्यसरी नै टहरो बनाएर बसेका छन्।

टहरोमा खाना पाकिसकेको छ। दाल पकाउने तयारी गर्दै छिन् उनको पत्नी। सागर अफ्ठ्यारो मान्दै भन्छन्, ‘तरकारी लिन जान टाढा भएकाले कति दिन भइसक्यो दाल भात मात्र खान थालेको।’

सागर पुरानो समयतिर फर्किन्छन्।

इँटा बनाउनु उनीहरुको पुर्ख्यौली पेशा। सानैदेखि यही काम गदै आए। दैनिक २० घण्टा काम गर्न गाह्रो भएन। होममेड जाँडले साथ दिएको छ। आफैँ बनाएका छन्, नियमित खान्छन्।

घर उनीहरुको रामेछाप खनियापानी। ५१ घरधुरी  अधिकांश मानन्धर समुदायका। पूरा गाउँकै पुर्ख्यौली पेशा इँटा बनाउने। सागर ८ वर्षको उमेरमै इँटाभट्टामा काम गर्न आए। अहिले २२ वर्षको हुँदासम्म यही काममा छन्। २६ वर्षीय विकास १२ वर्षदेखि भट्टामा काम गर्दै आएको बताउँछन्।

उनीहरु वर्षेनी इँटाभट्टामा काम गर्न आउँथे। पढाई छुट्यो। अरु काममा लागेनन्। त्यसरी नै धेरै वर्षहरु बिते। धेरै कमाउने सनक चढेर आयो। उनी मलेसिया हानिए। मलेसियामा खेतीपाती गर्नुपर्ने भयो। महिनाको ९ सय रिंगेट आउथ्यो। त्यसैबाट खानेबस्ने र लेभीसमेत तिर्नुपर्थ्यो। नेपालको जति त्यहाँ कमाइ भएन।

मलेसियामा १२ घण्टाभन्दा बढी काम गरे।  न त खाना राम्रोसँग खान पाउथेँ न सुत्न नै। बिरामी पर्दा बिदा समेत पाएनन्। ३ वर्ष बिताएर नेपाल फर्के। मलेसियाबाट आएको पर्सिपल्ट नै भट्टामा काम सुरु गरे।

भन्छन्– ‘अब त खानै नपाए पनि विदेश जान्न।’

सागरको दाजु विकासको कथा पनि उस्तै। उनी त झनै १ वर्ष नपुगी मलेसियाबाट फर्के। जाँदा लागेको ऋण भट्टामा काम गरेर तिर्ने बताउँछन् उनी।

+++

२०७३ मंसिर २
समय : दिउँसो २ बजे।

सागर इँटा चाङ लगाउँदै छन्। पत्नी इँटा बनाउने खलो सफा गर्दै छिन्। दिन धुम्मिएको छ। सागर हामीसँग गफिँदै छन्।

इँटा बनाउने काम हिउँदमा मात्र हुन्छ। वर्षातको ६ महिना बेरोजगार। काम गर्न सक्ने उमेरका सबै परिवार नै भट्टामा आउने भएकाले गाउँ सुनसान हुन्छ। धेरैले बालबच्चासँगै लिएर आउने भएकाले पढ्न पाउँदैनन्।

सागरको बुवा ३७ सालदेखि नै इँटाभट्टामा काम गर्थे।

इँटा बनेर घर आइसक्दा धेरै प्रकिया पार भइसकेको हुन्छ। भट्टामा कामको प्रकृति पनि धेरै हुन्छ। बनाएको इँटा चाङ लगाउने, इँटा पोल्ने ठाउँसम्म ओसार्ने, इँटा पोल्ने र निकाल्ने। सबै काममा फरक फरक श्रमिकहरु जुटेका हुन्छन्।

कामको प्रकृति जस्तै पारिश्रमिक पनि फरक छ। इँटा बनाउनेले प्रति इँटा १ रुपैयाँ पाउँछ। १ हजार इँटा बोक्नेले ३ सय पाउँछ। इँटा पोल्ने काम जोखिम भएकाले यो काम गर्नेहरुको पारिश्रमिक धेरै छ।

इँटा बनाउने काम पहिलेभन्दा अहिले सजिलो भएको अनुभव छ सागरको। पहिला खाल्डोबाट माटो झिकेर आफै मुछ्नुपर्थ्यो। अहिले माटो मेसिनले तयार गर्छ।

+++

२०७३ पुस १५
समय : साँझ ७ बजे।
खाना खाएर सुत्ने तरखरमा छन् उनीहरु। पत्नीलाई ग्लुकोज र आइरन चक्की दिँदै छन् सागर। गर्भवती छिन् उनी।

१८ वर्षीया उनी त्यस्तो अवस्थामा समेत २० घण्टा काममा खट्छिन्। जीवन धान्न बाध्य भएर दु :ख गर्नु परेको गुनासो पोख्छिन्।

सागर निदाउने मुडमा छन्। कामले थकित उनी पत्नीको उदास चेहरा एकतमासले हेरिरहेका छन्। निदाउन नपाइ ११ बजे काममा फर्किनुपर्ने बोझ एकातिर छँदैछ।

उनी इँटा भट्टाको संसार सुनाउन सुरु गर्छन्।

उनका अनुसार रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाका मानिसहरु इँटा बनाउने काम गर्छन्। इँटा बोक्नेहरु दाङ, सल्यान पर्वत, प्युठान, रुकुम र रोल्पाका छन्। इँटा पोल्नेहरु भारत बिहारबाट आएका र तराई मुलका छन्।

‘जिन्दगी नै इँटासँग जोडिएको छ। इँटाभट्टामा काम नगरे जिन्दगी चल्न गाह्रो छ,’ दिक्क मान्दै भन्छन, ‘हामी सपना देख्नको लागि राम्रोसँग निदाउन पाउँदैनौ।’

संघर्षका वावजुद सन्तुष्ट छन् उनी। जीवनप्रति कुनै गुनासो र राज्य प्रति प्रश्न पनि छैन। आफ्नो जिन्दगीको आफै जनता र आफै सरकार भएको बताउँछन्। आफ्नो बाहेक अरु कुनै सरकारको विश्वास लाग्दैन। मेहनतमा गर्व छ उनलाई।

+++

२०७३ माघ ४ गते
समय : साँझ ६ बजे

पति पत्नी नै दिक्क देखिएका छन्। ५ महिने गर्भवती सागरकी पत्नी केही दिनदेखि बिरामी छिन्। काम गर्न जाँगर छैन सागरलाई। दिक्कादारी सुनाउने मुडमा छन्। घरमै बनाएको छ्याङ बटुकामा लिएर बसेका छन्। सितन केही छैन। पत्नी टुलुटुलु उनलाई हेरिरहेकी छिन्। मोबाइलमा भर्खरै आत्महत्या गरेका गायक यम बुद्धको गीत बजिरहेको छ –

जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो…
संघर्ष गर्दै छु …

हिम्मत नहार्ने फिलोसोफी बुझिसकेका छन् उनले। नत्र ३ महिना खान नपुग्ने खेतीपाती गर्न वर्षातमा किन गाउँ पुग्थे? साथीहरु जस्तै तराई झरिहाल्थे रिक्सा चलाउन।

मिति २०७३  फागुन : १०
समय : दिउँसो ४ बजे ।

गाउँबाट भर्खरै आएकी छिन् सागरकी आमा।  सासु बुहारी आफ्नै गन्थनमा व्यस्त छन्। तिनै आमा कुनै समय यसैगरी इँटा बनाएर बस्थिन्, अहिले उमेरले दिदैन्। बुवा बितिसकेका छन्।

पारिवारिक कुराकानी सुनाउन थाल्छन् सागर।

उनका ५ वटा बहिनीको परिवार भट्टामा काम गरेर जीवन निर्वाह गरिरहेका छन्। भर्खरै मात्र एउटा बहिनीले पति गुमाइन्।२६ वर्षीय बहिनी आफ्नो बालबच्चाको साथ भट्टामा काम गरेर पेट पाल्दैछिन्।

+++

भट्टामा काम गर्नेहरुको आम्दानी देखेर त्यो काममा आकर्षित हुनेहरु धेरै छन्।
तर,  सबै जना फर्किन्छन्।
किन  त ?
सागर कामका चुनौतीहरु सुनाउँछन्।
भट्टाको काममा चुनौतीका पहाडै पहाड। कामको बेलामा पानी पर्यो भने इँटा काम लाग्दैन्। भिजेको इँटाको आधामात्र पैसा आउँछ। इँटा टुक्रियो भने काम नै लाग्दैन।

चिसो रातको काम। अव्यवस्थित बसाइ।  खानपान खराब। धेरै त यसैले बिरामी पर्छन्। बिरामी हुँदा उपचारमा हुने खर्चको हिस्सा ठूलो छ। धेरैले बचाउन सक्दैनन्।

+++
२०७३ चैत ३०
समय :  ४ बजे
मुसलधारे पानी पर्न थामिएको केही समय मात्रै भएको छ। इँटा भट्टा पुग्ने बाटो हिलो छ। चिम्नीबाट धुवाँको मुस्लो रोकिएको छैन। पानीले भिजेको माटोबाट छुट्टै बासना आइरहेको छ।

भर्खरै बनाएका इँटाहरु  डुबानमा छ। चाङ लगाएका इँटाहरु पनि भिजेको छ। सागर डुबानमा परेका इँटाहरु जोगाउन पानी कटान गरिरहेका छन्। हातमा कोदालो बोकेर यताबाट उता दौडिरहेका छन्।

रातभर मेहनत गरे बनाएको इँटा पानीले स्वाहा पार्दा चिन्तित किन नहुन्?

इँटाभट्टाको काम मौसममा भर पर्छ। घाम राम्रोसँग लाग्यो भने केही गाह्रो हुँदैन्। घाम नलागिकन हुस्सु लाग्ने र पानी पर्ने भयो काम रोकिन्छ। यो वर्ष यस्तै भयो।

फागुन महिनामा पनि पानीले इँटा डुबानमा पार्यो। १५ हजार इँटा नष्ट भयो। १० दिन काम गर्न पाएनन्। चैत्र महिनामा  पनि उस्तै। पानी  परिरहेका कारण जम्मा १२ दिन मात्र काम गर्न पाए। १० हजार इँटा चैत्र महिनामा पनि नष्ट भयो।

अब वैसाख महिनामा के होला?

२०७४ वैशाख ४
समय : दिउँसो २ बजे
पानीले डुबान पारेपछि पानी कटान गर्दै थिए सागर। फागुन र चैतमा जस्तै वैसाखमा पनि पानीले डुबाएको थियो इँटा। चाँडै नै मनसुन सक्रिय भएको कारण यो वर्ष धेरै इँटाहरु नष्ट भए। १ दिन मात्र काम गरे आजसम्म।
केही दिनमा घर फर्कने तयारीमा छन् उनीहरु।

२०७४ वैशाख १२
दिउँसो १२ बजे
बस्ती सुनसान छ। केही टहराहरु भत्किसकेका छन्।  केही भत्किँदै छन्। सागर पनि आफू बसेको टहरो भत्काउँदै छन्। सामानहरु एकातिर थुप्रिएको छ। सागरकी पत्नी टोलाइरहेकी छिन्। केही दिनमा डेलिभरी हुने डेट दिएको छ डाक्टरले। एक किसिमको मनोवैज्ञानिक त्रास छ उनलाई। किनकि , पेटमा बच्चा लिएर दैनिक काममा खटेकी छिन् उनी।

बस्ती भोलि छोड्दैछन्।

मौसमले साथ नदिँदा यसपाली सोचेजस्तो कमाउन सकेनन्। घर फर्कँदै गर्दा भट्टा मालिकसँग १ लाख ऋण लिए। हिउँदमा काम गर्न आउँदा तिर्ने कागज गरेर। उनी अब २ लाख ५० हजार पैसा लिएर जाँदैछन्।

+++

गर्भवती अवस्थामा काममा आएकी सागरकी श्रीमतीले छोरा जन्माइसकेकी छिन्।  १० महिने छोरा लिएर अहिले पनि इँटाकै काम गरिरहेकी छिन्। यो वर्ष उनीहरु अर्कै भट्टामा काम गरिरहेका छन्। उनीहरुको जीवनचक्र पुर्खौदेखि यसरी नै चलिरहेको छ।

+++

अहिले देशभरका अधिकांश इँटाभट्टा यसैगरी चलेका छन्। लगभग ४० हजारभन्दा बढी कामदारहरु भट्टामा यसैगरी काम गरिरहेका छन्। एउटा भट्टामा ३ सय देखि ७ सयको हाराहारीमा कामदार रहेका इँटाभट्टा एसोसिएसनले उल्लेख गरेको छ। वर्षेनी त्यही अनुपातमा बालबालिकाहरु  भट्टा मजदुर बन्दैछन्।

इँटा भट्टामा काम गर्न अधिकांश परिवार सहित आउँछन्। सोही कारण बालबालिकाहरुको पढाइ छुट्छ। फलस्वरुप ती बालबालिकाहरु भविष्यमा गएर इँटाभट्टामा काम गर्ने मजदुर नै बन्न पुग्छन्। यसको ज्वलन्त उदारण हुन, विकास र सागरका दाजुभाइ।

पहिलो पोस्टकोलागी सागर बुढाथोकी र गगन थापाले तयार गर्नु भएको लेख

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *