कथा – खल्लो चिया



कुम्भकर्णलाई ‘आइडेन्टिटी क्राइसिस’ दिन सक्ने म आज एकाबिहानै निन्द्राबाट ब्युझिएकी छु। यति बिहानै उठ्दा पनि मेरो शरीरमा आलस्यपनको सट्टा फरक किसिमको स्फुर्ती छाएको छ। पर्दा उघार्दै म झ्यालबाट बाहिर नियाल्छु। ओहो! सुर्योदय हुनुअघिको बिहानी मैले महशुस गर्न नपाएको निकै समय भइसकेछ।बिहानीको मन्द बतासले मेरो अनुहारमा खै के फ्याँकेर जान्छ कुन्नी,म त्यसै रोमान्चित बन्छु।

आज ऊ यहाँ आउँदै थियो। ऊ केवल मलाई भेट्न मात्र आउँदै थियो। मेरै निम्ति मात्र आउँदै थियो। यो हाम्रो पहिलो भेट थिएन तर निकै लामो समयपछिको भेट थियो।मन यसै रमाएको थियो।

म उसलाई पर्खिरहेकी छु।मन निकै आतुर भएको छ उसलाई देख्न,उसलाई आँखाभरी सजाउन।

मैले आफ्नो त्यो बिहानीको नित्यकर्म सकाएँ। तर म भने उस्तै थिएँ,जस्तो पहिला हुने गर्थें। उहीँ फुङ्ग छोडेको कपाल,उहीँ खासै चमक नभएको अनुहार,उहीँ ढंग नपुर्‍याइ लगाएका कपडा,म दुरुस्तै थिएँ।आम युवतीहरुमा खोजिने सौन्दर्यको मानक मसित केही पनि छैन। अझ भनौं म आफैले त्यसो बन्न कहिल्यै जरुरी पनि ठानिनँ।

घामका किरणहरु मेरो झ्यालको बाटो हुँदै मेरो कोठाभित्र प्रवेश गरिसकेका थिएँ। मेरो प्रतीक्षाको घडी लगभग समाप्त भइसकेको थियो।

एउटा थकित दुब्लो पातलो शरीर मेरो ढोकानिर हाजिर थियो। शरीरजस्तै पातलो झोला बोकेर ऊ उभिएको थियो। म मुस्कुराएँ,तर ऊ मुस्कुराएन। लामो यात्राको थकानले उसमा यति शाहस पनि बाकी थिएन।

मैले उसलाई आराम गर्न भनेँ।ऊ बेडमा पल्टियो तर आँखा भने खुल्लै।
“यति लामो नाइट यात्रा,एकछिन सुत न,निन्द्रा पुर्याऊ।” मैले उसको हालत देखेर भनेँ।
“मसित उसै त धेरै समय छैन,भएको समय पनि तिमीसँग बिताउन पाइन भने के अर्थ भयो र यो भेटको।” म अलिकति मुस्कुराएँ मात्र।

“चिया खान्छौ?” मैले सोधेँ। तर उसलाई यो सोध्न जरुरी थिएन। किनकी चियालाई ऊ बढ्ता प्रेम गर्छ,हुन सक्छ मलाई जति। हुन सक्छ मलाई भन्दा पनि बढी। चिया प्रतिको उसको प्रेम देखेर एकपटक मैले उसलाई जिस्काउदै भनेकी थिएँ- “म र चियामध्ये एक रोज्नुपरे कसलाई रोज्छौ?”
“नो डाउट,चिया।”
“चियामा त्यस्तो के छ जुन ममा छैन?” मैले जिस्किने हिसाबले नै सोधेकी थिएँ।
“चियामा हटनेस हुन्छ।” उसले यसो भनेर मलाई उडाउन खोजिरहेको थियो। मैले केही नबोली आँखा तरिदिएँ। उसलाई मैले आँखा तरेको खुब मन पर्छ रे।भन्छ कि- चियाभन्दा धेरै त तिमीले आँखा तरेको दृश्य सुन्दर लाग्छ।
“त्यो आकारबिहिन चियासित मलाई तुलना नगर है।” म रिसाए जस्तो गरिदिन्छु। ऊ बेस्सरी हासिदिन्छ।

“आज चिया म पकाउँछु।” ऊ जुरुक्क उठ्दै बोल्यो।
मैले उसको हातको चिया कहिल्यै पिएकी थिइनँ। उसको र मेरो शहर फरक थियो। कामको ब्यस्तताको कारण भेटघाटको मौका कमै मात्र जुर्ने गर्थ्यो।

म अक्सर चिया नपिउने मान्छे हुँ। कहिलेकाही माहोलमा घुलिनकै लागि पिइदिन्छु। साथीभाइ र आफन्तहरु आउँदा मात्र मेरो भान्सामा चिया पाक्छ।

उसले चिया पकाउन थाल्यो। चिया पिउन मपनि लालयित थिएँ। किनकि मेरो प्रिय मान्छेको अति प्रिय थियो चिया। म उसलाई एकटकले हेरिरहेकी थिएँ। आफ्नो सम्पूर्ण थकान भुलेर ऊ चिया बनाउन ब्यस्त थियो।

उसले दुई कप चिया बनायो। दूध नहालेको फिक्का चिया थियो।
” चिया लिनुहोस् महारानी।” चियाको एउटा कप उसले मेरो हातमा थमायो।
“थ्याङ्क्स भन्न त मन छैन तर तिमीले यतिको औपचारिकता निभाइ नै सकेपछि मलाई नि कर लाग्छ, धेरै धेरै आभारी छु।” मैले पनि जिस्किएर माहोल रमाइलो बनाइदिएँ। चियाको अर्को कप आफुले लिदै हल्का मुस्कुरायो। हामी आमनेसामने भएर बसेका थियौं।

” चियाको पहिलो चुस्की त तिमीले नै लिनुपर्छ है।” उसले आग्रह गर्यो।
” मलाई त चिया भन्दा तिम्रो आँखाको नशा पिइदिन मन छ।” म फेरि जिस्किएँ। उसको मुहारमा लोभलाग्दो मुस्कान छाउथ्यो यसो भनिरहँदा।

मैले चियाको पहिलो चुस्की लिएँ। त्यति खास लागेन। फेरि अर्को चुस्की लिएँ,कुनै स्वाद नै महशुस भएन।
“कति खल्लो चिया बनाको?” मैले यसो भन्दासम्म उसले चियाको चुस्की लिएकै थिएन।
त्यसपछि हतार हतार उसले एक चुस्की लियो। उसले अनुहार पुरै बिगार्यो। ऊ आफैलाई पनि स्वाद परेनछ।

“मैले योभन्दा पहिले चिया बनाएकै थिएन। तर यति खल्लो चिया बनाउछु भनेर लागेको थिएन।” उसले यसो भनिसक्दा मैले आफ्नो हाँसो रोक्नै सकिनँ।
“मिस्टर चिया लभरले नि यति खल्लो चिया बनाउने रहेछ है।” मैले जिस्काउन थालेँ। ऊ पनि बेस्सरी हास्यो।

उसले आफैले बनाएको चिया उसले नै पिउन सकेन। तर मैले पूरा कप रित्याएँ। चिया जरुर खल्लो थियो तर विशेष थियो। त्यहाँ उसको प्रेमको गाढा रङ मिसिएको थियो,जुन म मात्र देख्न सक्थेँ, ममात्र महशुस गर्न सक्थेँ।

ऊ उसको शहर फर्कियो। ऊ मेरो सम्झनामा हरबखत छ। मेरो सम्झनामा उभन्दा बढी त त्यो खल्लो चिया छ। जीवनका अनेक स्वादहरुमा भेट्टाउन नसकेको मिठास त्यहीँ चियामा थियो। जीवनमा चाहेर वा नचाहेर मन नपर्दै पनि धेरैपटक चिया पिएँ तर त्यहीँ खल्लो चियाको स्वाद मात्र म सन्झन्छु।

केही महिना भइसक्यो हाम्रो अर्को भेट नभएको। अब त आफै मीठो चिया बनाउन सक्छ रे,मलाई खुसी हुँदै सुनाउदै थियो। योपटक म उसलाई भेट्न जादैछु।

उसको हातको चिया म जरुर पिउनेछु। तर मलाई स्वादिलो चिया होइन फेरि त्यस्तै खल्लो चिया पिउन मन छ। त्यहीँ खल्लो चिया। म अब जीवनभर त्यहीँ खल्लो चियाभित्रै जीवनका स्वादहरु खोज्न चाहन्छु,उसँगै। म उसलाई फेरि त्यहीँ खल्लो चिया पकाउन लगाउनेछु। तर उसले अब त्यस्तै स्वादको खल्लो चिया बनाउन सक्छ कि सक्दैन?

ए मिस्टर चिया लभर, के तिमी जिन्दगीभर मलाई त्यस्तै प्रेमको गाढा रङ मिसिएको खल्लो चिया ख्वाउन तयार छौ?

 

नयाँ प्रहरको साहित्य पानाको लागि तपाइँ पनि आफ्नो साहित्य रचना पठाउन सक्नुहुन्छ। हामीलाई रचना पठाउन निक्कै सहज छ:
फेसबुक म्यासेन्जरबाट: m.me/nayaprahar
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111