कविता : म, आमा र सरकार



साँझपख,
ओभानो चुल्होको अघिल्तिर बर्षिरहेका आमाका एकजोडि आँखाहरू
मैले पढ्न खोजें-
गालाका चाउरीहरुमा भरिएको आँशुमा प्रतिविम्बित भएका
भान्साका रित्ता भाँडा देखें-
चुल्होमा आगो त भर्भराएको थिएन
तर बलिरहेको थियो आमाको छाती-
आमाको मुहार,
क्षण क्षणमा फेरिईरहन्थ्यो
‘जस्तो कि मेरो देशको सरकार’ –
आमाको मुहार,
कहिले कठोर देखिन्थ्यो
कहिले लाचार देखिन्थ्यो
‘जस्तो कि मेरो देशको सरकार’ –
म त आमाका आँखा पढ्दा पढदै निदाएछु,
‘जस्तो कि मेरो देशको सरकार’-

सवेरै,
घामका राता किरणहरुले
मुहारका आँशुका टाटाहरूमा
लाली पोतेछ र
आमालाई जून बनाईदिएछ-
लाग्यो,
जूनमा दाग नभएको भए हुन्थ्यो-
लगत्तै मैले देखें,
त्यो दाग बढ्दै गयो
मुहारको आभा छोपिदै गयो
आमाको अनुहार त
एकैक्षणमा औंशी बन्यो,
‘जस्तो कि मेरो देशको सरकार’-

सपनाहरुका ठूला-ठूला होडिङ बोर्ड राखेर
भ्रमको खेती गर्नेहरुले
नष्ट गरिरहे हजारौं आमाहरुका मुस्कानको फसल,
म त्यही मुस्कान टिप्न लगातार हिँडिरहेको छु,
म बाटो वारि छु
मलाई बाटोपारी जानु छ
मेरा खल्तीहरु रित्ता छन्
हातहरु खाली छन्
जरिवाना तिर्न सक्दिनँ-
र,
जेब्रा क्रस धुलोले पुरिएको छ-
देखिदैन,
‘जस्तो कि मेरो देशको सरकार’-

अलिकती खुशी पनि नबोकी
आमाको सामुन्ने परेको म,
आफूलाई पासपोर्ट बनाउँनेको लाममा भेटें-
बिदाईमा रुँदै गरेका आमाका आँखामा भेटें-
मरुभूमि तर्फ उड्नु अघि,
देशतर्फ आसातित नजरले हेर्दै गरेका,
यूवाका जमातमा भेटें-
तर तब म आत्तिएँ,
जब रातो बाकस भित्र बन्द भएर फर्किदा,
मैले आमालाई भेटिनँ-
सायद मेरो मनोदसा आमाले पढ्नु भयो,
काखको सिरानी दिएर बिस्तारै भन्नू भयो-
सुत बाबु,
‘जस्तो कि मेरो देशको सरकार’-

Loading...