गजल, ‘चट्टान फोडी ढुङ्गाहरु गलाई देखाउनुछ’



चट्टान फोडी ढुङ्गाहरु गलाई देखाउनुछ ,,
बालुवामाथि पनि दाना फलाई देखाउनुछ

निमुखाको पसिनाले ठड्याएको महल तिम्रो ,,
फेरि नउठोस् यसरी, ढलाई देखाउनुछ

तिमी ईमान बेच्छौ भित्र म बाहिर सामान बेच्छु ,,
यी दुईमा बास्तबिक भलाई देखाउनुछ

मेटाएर ठुला,साना बिचको यो दुरीलाई ,,
तिम्रा सारा दम्भहरु जलाई देखाउनुछ

तिमी बाहुन म अक्षुत बताएथे आमा-बाले ,,
हामीबिचमा बिहाबारी चलाई देखाउनुछ

बिहेपछि पर्खि पर्खि किन जल्छौ नारीहरु ,,
अब जग्यमै तेल अनि सलाई देखाउनुछ

सीता प्याकुरेल

सीता प्याकुरेल  सशक्त युवा गजलकार हुन्। विभिन्न साहित्य कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने सिता प्याकुरेल निक्कै वर्ष देखि गजल सिर्जनामा अनवरत लागि रहेकी छिन्।

Loading...