म ‘पागल’ भए भने के गर्छु होला?


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

मलाई स्किजोफ्रेनिया (schizophrenia) भयो भने म के गर्छु होला? म जबसम्म अरुको जुत्तामा उठ्ने प्रयत्न गर्दिन, तबसम्म म अरुको सहायता गर्न सक्दिन। समानुभुती भए मात्र मनो-परामर्श गरेको फाईदा हुन्छ नत्र भने हुदैन।

स्किजोफ्रेनिया, आफ्नो परिवारमा कसैलाई वा नजिकको कुनै साथीलाई छ भने मात्र हामीले बुझ्ने प्रयास गर्छौँ। नत्र, बाटोमा कतै-कतै घर नभएका मान्छेमा मात्र देखेका हुन्छौं।

उनीहरु यस्तो केही आवाज सुन्छन्, जुन हामीले सुन्दैनौं। कोही यस्ता मान्छे देख्छन्, उनीहरुसंग कुरा गर्छन्, जुन हामीले देख्दैनौं। यसलाई अलिकति फरक ढंगले हेर्ने आज प्रयास गरौँ।

स्किजोफ्रेनिया (schizophrenia) कुनै एक कारण मात्रले हुने होइन। राम्रो हेरचाह, सहयोग र नियमित अस्पतालको परामर्शमा धेरै किसिममा स्किजोफ्रेनिया निको हुने रोग हो। क्यान्सर, ट्युमर जस्तै जोखिम हामीलाई पनि छ। मर्नु अघि हेर्नैपर्ने फिल्मको लिस्ट खोजी-खोजी हेर्छौं, मर्नु अघि खानु पर्ने खानाको लिस्ट खोजी-खोजी खान्छौं, घुम्न जानु अघि पनि यस्तै तयारी ईन्टरनेटमा खोजेरै घुम्न जान्छौं। अब, भएछ भने के गर्छु होला।

“गाह्रो होला ! मैले देख्ने एउटा साथीले, “एउटा घर र केही चरा मेरो कल्पना मात्र हो भन्छ। होला, तर म देख्छु, उनीहरुसँग बोल्छु। मेरो हेराई, मेरो शरीरको हाउभाउ कहिलेकाही अरुलाई अचम्म लाग्छ रे। ठीकै छ। स्किजोफ्रेनिया छ रे मलाई, होला सबै त्यस्तै भन्छन्। तर, यति हुँदैमा म के केही नगर्नु त? मलाई पढ्न, कुनै काम गर्न, मन पर्ने मान्छेहरुसँग संगत गर्न त स्किजोफ्रेनियाले केही गर्दैन। अब बिरामी होस् भनेर त हरेक दिन कसै न कसैले भन्छन्, बरु आफ्नो आत्म-विश्वास बढाउने काम गर्छु।”

स्कुलमा विज्ञान विषयमा पढेको थिए, चार्ल्स डार्विनले भेनेका थिए, “सधैँ पृथ्वीमा बलियोले कम्जोर माथि राज गर्छ। जो बलियो हुन्छ, त्यसैले यो संसार चलाउँछ।” म भित्रको आत्मा, परमात्मालाई सामाजिक परिवेशबाट भिन्न राख्ने आँट गर्छु, यो रोगका लक्षण मेरो बसमा नहोलान्, तर मेरो आत्म-विश्वास, उत्सुकता र अघि बढिरहने कौतुहलताको आधारमा बाच्छु। म केबल आफ्नै लागी बाच्छु।”

शायद म यही गर्ने प्रयास गर्छु। विश्वमा एक अर्थशास्त्री जोन न्यास, जसले गेम थिएरी (game theory) प्रतिपादन गरे, उनलाई स्किजोफ्रेनिया थियो। उनले माथि भनेको जस्तै संकल्प बलियो राखेर बाचे। मर्नु अघि संसारलाई केही योगदान दिएर मरे।

अनि हामी र हाम्रो सभ्यता। केही बहुसंख्यक मानिस भन्दा भिन्न भए पागल भनिदियौं? सधैँ बहुसंख्यामा हुने कुरा ठीक हो तर अरु गलत भन्ने सोचाईले विश्वभर समस्यै-समस्या जन्माउँछ। के ती अहम त्याग गरे तेस्रो लिङ्ग, दुर्लभ जन्तु, बिरुवा; दुर्लव मानसिक रोग लाग्नु वा सानो समुदाय भित्र पर्नु समस्या होइन रहेछ। समस्या त बहुसंख्यामा पर्नु रहेछ। जसलाई सबैले ढुक्कसँग बच्न दिन्छन र उनीहरुले अरुलाई बच्न दिदैनन्। समस्या बहुसंख्यामा रहेछ।

मैले यो सानो विचार परिवर्तन गर्दा, धेरै समस्याको समाधान देखें।

केहि प्रस्न छ, वा आगामी दिनहरुमा कुनै मनो-विज्ञानको विषयबारे जिज्ञासा लेखको रुपमा देख्न चाहनु हुन्छ भने [email protected] मा ईमेल गर्नुहोला।

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...