राष्ट्र समृद्धिको मन्त्र – भीम उपाध्याय

उपत्यकाका सदियौ पुराना विभिन्न जात्रा, चाडपर्व, मन्दिर, पाटीपौवा, सडक, पोखरी, ढुंगेधारा एवं वास्तु विकसित सभ्यताका प्रमाण हुन् । यस्तो समृद्ध पौराणिक नेपाल अहिले समयोचित अर्थतन्त्रको मन्त्र बुझ्न वा अंगिकार गर्न नसक्दा दरिद्रतम् मुलुक बनेकोे छ ।

उत्तरर्फको शक्तिशाली तत्कालिन भोट राज्यलाई हाम्रा पुर्खाले परास्त गरेका थिए । अंग्रेजसंगको युद्धमा नेपालले ठूलो भूभाग गुमाउनु परेता पनि विश्वलाई आफ्नो प्रशासनिक क्षमता र दक्षताले औलामा खेलाएको अंग्रेजले नेपालीको वहादुरीको कदर गर्दै नेपाललाई उपनिवेश बनाएन, मित्रता गास्यो । तर अंग्रेजको शासनमा भारतले धेरै सिक्ने अवसर पायो, नेपाल भने अनाडी नै रह्यो ।

९० वर्षसम्म स्वतन्त्रताको लागि अंग्रेजविरुद्धको संघर्षमार्फत भारतीय जनताले राज्य व्यवस्थापन गर्ने योग्यता, सीप, नैतिक शक्ति, प्रशासनिक कला, अभ्याससमेत राम्ररी हासिल गर्न सके । भारत अहिले क्षेत्रीय महाशक्ति राष्ट्र्र वनेकोे छ । भारतीयका मनमा पराधीनताको दुःखद् छाप गहिरोसंग अंकित पाइन्छ । पराया देशको आर्थिक, सामरिक बैज्ञानिक हेपाइविरुद्ध सबै जनता एकस्वरले प्रतिकार गरिहाल्छन् । नेपालमा जस्तो विदेशीको आड लिएर खुच्चिंग कसैले भन्दैन । स्वतन्त्रताको लडाइका महात्मा गांधी, विवेकानन्द, टैगोर, नेहरु, टाटा, भाभाजस्ता सयकडौ नैतिकवान, चरित्रवान, आध्यात्मिक, प्राज्ञिक, राजनीतिक, औद्योगिक, बैज्ञानिक तत्कालीन आदर्शवान नेताहरुको आचरण र चरित्रको स्वाभिमानी प्रभाव त्यहाका वर्तमानका प्रभावशाली नेतृत्व, व्यक्तित्व एवं पुस्तामा अझै प्रचूर पाइन्छ जसमा भारतको आत्मा बोल्ने गर्छ । भारत संगसंगै प्रजातान्त्रिक मुलुक बनेको नेपालको अवस्था भने निरन्तर खस्किदै गयो ।

भुपरिवेष्टित नेपालको विकासका लागि पुजिंको कमी छ, १७ प्रतिशतमात्र जमिन खेतीयोग्य समथर भएकोले खाद्य उत्पादन पनि थोरै छ, पहाडी मुलुक हुनाले खेतीपातीवाट पर्याप्त उव्जनी हुदैन । विजुली, सडक, टेलिफोन, सिंचाइजस्ता अत्यावश्यक भौतिक संरचना विकास गर्न अति कठिनाइ छ । प्राविधिक, दक्ष एवं शिक्षित उच्चस्तरीय जनशक्तिको कमी छ । वर्षाको पानीमा आश्रित खेतीप्रणालीका कारण मनसुन र खडेरीले वर्सेनी कृषि उत्पादन अनिश्चित एवं प्रतिकूल हुन्छ । अनेक जातजाति, भाषाभाषी, धर्म, वर्णव्यवस्था, धार्मिक आस्था, राजनीतिक विचारमा विविधता विद्यमान जनता भएको मुलुक हुनाले समन्वय र सामन्जस्य राख्न कठिन भएकाले विकासमा पछि परिएको तर्क गर्नेहरु पनि यहां निकै छन् । यस्ता तर्क आफ्ना ठाउमा ठीकै लाग्छन् ।

औद्यौगिक एवं पूजिगत उत्पादनका लागि आवश्यक कच्चा पदार्थको कमी भएकोले रोजगारी सृजना गर्न सकिएको छैन । जनसंख्याको वृद्धि र तीव्र सहरीकरणको समस्याले अमनचैन र सामाजिक सद्भाव कायम गर्न गाह्रो छ । आर्थिक विकासका लागि भौतिक, आर्थिक, सामाजिक पूर्वाधारको सुविधा पर्याप्त छैनन् । दक्ष, शिक्षित जनशक्ति अविकसित दुर्गम भेकमा गई काम गर्न मान्दैनन् । नेपालप्रति छिमेकी मुलुकहरुकोे दृष्टिकोण सकारात्मक छैन । यसमाथि यहाका सरकारहरु अस्थिर एवं अकारणै छिटोछिटो परिवर्तन हुन्छन् । एकमना सरकार वन्न चल्न सकेन वा दिइन्न । शासन पद्धति अति केन्द्रीकृत, सामन्ती छ । यहाका नेता, योजनाकार, परियोजनाकार, वुद्धिजीवी, कर्मचारी, उद्योगपति, व्यापारी, नागरिक समाजका सदस्य एवं जिम्मेवार भनाउदा अतिस्वार्थी छन् । के अरु मुलुकहरुले यस्ता समस्या भोग्न नपरेकाले विकसित भएका हुन् त?

छिमेकी सानो भूटान पनि भुपरिवेष्टित देश हो, त्यहा प्रजातान्त्रिक शासन पद्धति नेपाल भन्दा १८ वर्ष पछि मात्र लागू भएको हो र दक्ष जनशक्ति छैन, तर भूटान नेपाल भन्दा दोब्बर धनी छ । युरोपका दर्जनौ राष्ट्र भुपरिवेष्टित एवं नेपालभन्दा साना छन् तर समृद्ध छन् ।

खासै केही प्राकृतिक श्रोत नभएता पनि जापान, सिंगापुर, युरोपका अनेकौ मुलुक आर्थिक रुपले समृद्ध छन् । प्राकृतिक श्रोत प्रचूर भएपनि नेपाल गरिब छ । स्वीट्जरल्याण्ड सानो पहाडी भूपरिवेष्टित देश हो, त्यहा सीमित जमीनमा केवल वर्षको ४ महिना मात्र खेती गर्न संभव हुन्छ । तर, उसले विज्ञान एवं प्रविधिको बलमा पशुपालन व्यावसायवाट विश्वस्तरीय दुग्ध सामाग्री उत्पादन गर्छ । जापान आकारमा नेपाल भन्दा अढाईगुणा ठूलो, ५ गुणा धेरै जनसंख्या भएको, सरकार पनि छिटोछिटोे परिवर्तन भइरहने, नेपालजस्तै परम्परागत पूर्वीय मान्यताको सामाजिक पद्दति भएको पहाडी देश हो, जहा प्राकृतिक श्रोत र कच्चा केही पनि छैन । तर, गुणस्तरीय सामानहरु उत्पादन एवं निर्यात गरी विश्वको ठूलो अर्थतन्त्रसहितको धनाढ्य मुलुक बनेकोे छ । मलेशिया, चीन, कोरिया थाइल्याण्ड आदि देशहरुमा जनसंख्या धेरै छ तैपनि तीब्र विकास हुदैछ । तसर्थ प्रमाणित हुन्छः प्राकृतिक श्रोत, कच्चा पदार्थ, खेतीयोग्य जमिन पर्याप्त नहुदैमा, पहाडी भूभाग बढी हुदैमा, जनसंख्या धेरै हुदैमा, सरकार अस्थिर हुदैमा कुनै देश गरिव हुनुपर्दो रहेनछ ।

जापान, अमेरिका, वेलायत, अष्ट्रेलिया, क्यानाडा, रसियाजस्ता विकसित मुलुकमा काम गर्ने नेपाल लगायतका विकासशील एवं गरिव मुलुकका प्रतिभाशाली जनशक्तिले आफूलाई उत्कृष्ट प्रमाणित गर्दै आएका छन् । यसबाट नेपालीहरुको मस्तिष्क र प्रतिभा उत्कष्ट रहेको पुष्टि हुन्छ । पूजिंको कमी जहा पनि हुन्छ चाहे ती विकसित हुन् वा विकासशील । विश्व बजारमा चलायमान पूंजि जति पनि छ । भूमण्डलीकृत बर्तमान विश्व अर्थतन्त्रमा पुँजि समस्या होइन ।

ज्ञान र प्रविधि छैन भने पनि गरिव हुनुपर्दैन । यसको प्रमाणमा दक्षिण कोरियालाई लिन सकिन्छ । विदेशी ज्ञान र प्रविधिको आयात गरेर उत्पादकत्व र उत्पादन बढाउदै आयातीत ज्ञान र प्रविधिलाई आफू अनुकूल, समयानुकूल परिष्कृत गरेर दक्षीण कोरिया निर्यात व्यापारबाट धनी वन्यो । प्रविधि आयातमा प्रतिडलर लगानीबाट सकल राष्ट्र्रिय आयमा ६० डलर वृद्धि गर्यो । बुद्धि छ र जान्यो भने आयातीत प्रविधि महंगो हुदैन ।
नेपालमा दक्ष जनशक्तिको कमी देखिदैन । मुलुकमा भएका ५० भन्दा वढी संख्याका इन्जिनियरिंग कलेजहरुवाट मात्र वर्सेनी ६ हजार युवा उर्जावान स्नातक इन्जिनियर उत्पादन भइरहेछ । नेपालमा अहिले ४२ हजार इन्जिनियर छन् । विज्ञान र प्रविधिका उच्चस्तरीय जनशक्ति ५० हजार जति रहेको अनुमान छ । यता दक्ष, उच्चस्तरीय जनशक्तिको कमी भएर विकास हुन सकेन भन्नु अर्थहीन छ । यहाँ स्वदेशमा उत्पादित दक्ष जनशक्तिले काम नपाएर विदेश पलायन हुन बाध्य छन् । राष्ट्र्रिय समुन्नतिका लागि भौतिक पूर्वाधार, समयानुकूल शिक्षा र प्रविधिको द्रूत विकास नै जोडदिनु पर्ने प्रमूख क्षेत्र हुन् । ज्ञान र प्रविधिशक्ति नै राष्ट्र समृद्धिको अतुलनीय, वेहिसाब, अद्धीतिय संभावनाको मन्त्र हो । नेपालका सत्ताधारीहरुमा भने विज्ञान, प्रविधि र प्राविधिज्ञप्रति घोर उपेक्षाभाव व्याप्त छ ।

विश्वप्रसिद्ध समाजशास्त्री म्यान्कर ओल्सनले अमेरिका(धनी) र यसको छिमेकी मेक्सिका(गरिब), दक्षिण कोरिया(धनी) र यसको छिमेकी उत्तर कोरिया(गरिब), पश्चिम जर्मनी (धनी)र यसको छिमेकी तत्कालिन पूर्वी जर्मनी(गरिब)बीच समृद्धिस्तरको तुलनात्मक एक सोधपत्रमा भनेका छन्, ‘जमिन, श्रमिक, पुँजि र प्रविधिजस्ता उत्पादनका परम्परागत श्रोतसाधन उपलव्धताको भिन्नताले कुनै मुलुक धनी वा गरिब हुदैन । यथार्थमा विद्यमान राजनीतिक नीति र संस्थागत संस्कृति, प्रकृया एवं व्यवस्थाले यसमा फरक परेको हुन्छ।’
त्यस्तै, डोनाल्ड क्रिस्टियन्सनले आफ्नो ‘इन्जिनियरिंग एक्सलेन्सः कल्चरल एण्ड अर्गनाइजेशनल फ्याक्टर’ पुस्तकमा ठोकुवा गरेका छन्, ‘जुन मुलुकले आफ्ना इन्जिनियर र प्राविधिज्ञहरुलाई ठीक ढंगले प्रशिक्षित पार्छ, अनि मनोवैज्ञानिक एवं भौतिक आय पाउने सुनिश्चितता गरेर तिनलाई पुरस्कृत गर्न सक्छ, त्यसले मात्र उच्च प्रविधियुक्त, उच्च गुणस्तरका बस्तुसेवाहरुको उत्पादन एवं व्यापार गरेर अन्तर्राष्ट्र्रिय प्रतिस्पर्धामा टिक्नुपर्ने विश्व अर्थतन्त्रमा झमेला बेहोर्नुु पर्दैन ।’

वैज्ञानिक, इन्जिनियर र प्राविधिज्ञहरुको भूमिकाको कुनै चर्चासम्म नहुने, तिनलाई समावेशी गर्न कुनै पहल नगर्ने, त्यसको महत्व र गरिमा नबुझ्ने, तिनीहरुप्रति सदा उपेक्षाभावको मनोरोग पाल्नेहरुको नै दशकौ देखि सत्तामा लडीबुडी गर्दै आए । नानाथरिका राजनीतिक संरचनागत परिवर्तन गर्दै हेर्दै गर्दै आइएता पनि समृद्धिप्रतिकूल राजनीतिक, सामाजिक वातावरण एवं संस्कार व्याप्त वर्तमान नेपालमा निकटमा तीब्र आर्थिक समृद्धिको संभावनाको ढोका खुल्ने कुनै आधार अझै दृष्टिगोचर हुदैन । विज्ञान र प्रविधिअनुकूल राजनीतिक संस्कारलाई डोर्याउने विषयतर्फ गम्भिर चिन्तनको थालनी भएकै छैन । विज्ञान, इन्जिनियरिंग एवं प्रविधिइतर थाङने कुरातर्फ मात्र अझै ध्यान केन्द्रित भइरहेको पाइनु बैज्ञानिक प्रद्योगिकीय प्रतिस्पर्धी अहिलेको युगमा नेपालका लागि अशुभ संकेत हो । कुनै राजनीतिक संरचनाले विज्ञान र प्रविधिको ताकत आफै बुझ्ने र सोही अनुसार अग्रगामी बन्ने हुने रहेनछ भन्ने नेपालीले अब बुझेकै हुनुपर्छ ।

पउल टिलिचको शव्दमा, गम्भिर कुरा अहिले कसैले गर्दैनन् । विश्व अर्थतन्त्रलाई ज्ञानशक्तिले हाकीरहेको अहिलेको जमानामा यो मुलुकको बैज्ञानिक, प्रद्योगिकीय एवं प्राविधिक क्षमता भने पातालमा छ । भौतिक संरचनाका केही रुमानी सपनाबाहेक त्यसलाई उकास्ने कुनै संकल्प प्रकट भइरहेको देेखिदैन । अहिले उपत्यकामा वग्ने बागमती,बिष्णुमति नदीहरुमा माछा नपाइएझै बुद्धि, सिप, प्रतिभा, क्षमता भएको वर्गलाई आकर्षित गर्ने कुनै योजनाविनाको वर्तमान परिस्थिति अझै यसैगरि कायम रहीरहे यो मुलुकमा कोही सद्दे र सक्षम मानिस अब भेट्टाइन मुस्किल हुनेछ । यतातर्फ तत्काल हस्तक्षेपकारी अभियानको सुरुवात नगरी समृद्ध नेपाल संभव छैन । बरु पुनः अर्को राजनीतिक प्रतिगमन वा कथित अग्रगमन भने पक्का हुने कुरा पर्खिबसे हुनेछ ।

भिम उपाध्याय नेपाल सरकारका पुर्व सचिब हुन्। सरकारी सेवामा रहँदा होस् वा अहिले सेवानिवृत्त जीवनमा नै, उनी सामाजिक संजालमा निर्धक्क आफ्ना बिचार राख्दछन्। रूर्की विश्वविद्यालयबाट इन्जिनियरिङ् गरेका उपाध्याय अध्यात्म र पूर्वीय दर्शनमा विशेष रुची राख्दछन्।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: editor@nayaprahar.com
वेब फारम: nayaprahar.com/submit-news-article

सम्पादन गरिएको: June 18, 2018, 11:14 am

सेयर गर्नुहोस्
संवाददाता:
भिम उपाध्याय

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am