मुलुक विदेशीको सहयोगको भरमा बन्दैन – भिम उपाध्याय
कुनै पनि मुलुक विदेशीको सहयोगको भरमा बन्दैन न कहीं बनेको ईतिहास छ ।
मुलुक जनताको ऐक्यवद्धता, परिश्रम, लगन, राष्ट्रप्रेम, आन्तरिक श्रोतको अत्यधिक परिचालन; विदेशी श्रोतको विवेकपूर्ण सचेष्ठ उपयोग, विश्व व्यापारमा दख्खल; रक्षा तथा अर्थतन्त्रको शक्ति र विकासको मेरूदण्ड विज्ञान र प्रविधिमा गंभीर ध्यान र निरन्तर दिगो लगानी; बिद्वान विज्ञहरूलाई निरन्तर स्वतन्त्र योगदान गर्न ईन्गेज गराईरहन सक्ने सरकारको ल्याकत, क्षमता; विज्ञ प्राविधिक अनुसंधानात्मक संस्थाहरूको निर्माण र सम्बर्धन, उच्च प्रविधिको अधिकतम् उपयोग, प्राविधिज्ञ/ईन्जिनियरहरूका निम्ति चुनौतिपूर्ण अर्थपूर्ण अवसर; मुलुकको सपना निर्माण र ती सपना पूरागर्न वलिदानयुक्त लागिपर्ने प्रतिभावान , जोखिम लिनसक्ने युवावर्गलाई उत्प्रेरितगर्ने योजना निर्माणबाट मात्र बन्न संभव र सुरू हुन्छ !
के हाम्रा अहिलेका राजनीतिक, ब्युरोक्रेटिक, व्यावसायिक उद्योगी, एकेडेमिया जस्ता विभिन्न क्षेत्रका कथित नेताहरूमा राष्ट्र निर्माण के हो र कसरी यसलाई मूर्त रूप दिने भन्ने क्षमता र सपना देखिएको पाईन्छ त?
नेताहरूको विदेश भ्रमण नियमित कार्य हो । भारतमा महिनाका सरदर २ जना विदेशी राष्ट्र वा सरकार प्रमुख वा उच्च सरकारी प्रतिनिधिमंडलको भ्रमण हुनेगर्छ र मोदीलाई पनि विदेश भ्रमण गर्ने टूरिष्ट प्रधानमन्त्री पनि भन्ने गरिन्छ । विदेश भ्रमणले मुलुक बनिहाल्छ भनेर अनावश्यक हौसिनु वा उत्ताउलो हुनु हुदैन/पर्दैन ।
मुलुक आफैले हो, आफ्नो क्षमताले हो बन्ने। तर छिमेकीको सद्भाव, सकारात्मक रवैया तथा स्वतन्त्र सार्वभौमसत्ता मुलुकको सम्मान र ईज्जत गर्न छिमेकीलाई र आफूलाई प्रेरित भने गरिरहनुपर्छ । कचकचे छिमेकी भयो भने जति पनि भौतिक विकास भए पनि मनमा आनन्द र संतोष हुदैन। जसको छिमेकी असल छ, उसको जिवन रमाईलो हुने गर्छ । आफू असल बन्ने र छिमेकीलाई पनि असल बन्न तिर उत्प्रेरित गर्न सक्ने नेताको खासमा यहॉ खॉचो हो।
भिम उपाध्याय नेपाल सरकारका पुर्व सचिब हुन्। सरकारी सेवामा रहँदा होस् वा अहिले सेवानिवृत्त जीवनमा नै, उनी सामाजिक संजालमा निर्धक्क आफ्ना बिचार राख्दछन्। रूर्की विश्वविद्यालयबाट इन्जिनियरिङ् गरेका उपाध्याय अध्यात्म र पूर्वीय दर्शनमा विशेष रुची राख्दछन्।
इमेलबाट: [email protected]
वेब फारम: nayaprahar.com/submit-news-article