काठमाडौंदेखि टिकापुर साइकल यात्रा भाग १


शान्ति र सद्भावको सन्देश फैलाउने आ-आफ्नै तरीका हुन्छ अनि आ-आफ्नै यात्रा, कोही सगरमाथा चढेर शान्तिको सन्देश फैलाउन चाहन्छन भने कोही रुख रोपेर, भर्खरै स्वास्थ्य क्षेत्रमा समान पहुँचकालागि डाक्टर गोबिन्द के.सी.को अनसन, त्यस्को प्रभाव र समर्थन पनि देखिहाल्यौं । यसै क्रममा काठमाडौबाट दुई यूवाहरु सुरेन्द्र बजगाँई र इशान साइकल यात्रामा कैलाली टिकापुर तर्फ लागे । यस सद्भावपूर्ण साइकल यात्राका क्रममा खिचिएको मान्छे र तिनका कथाहरु यहाँ प्रस्तुत गर्न चाहन्छौं । औसत नेपालीका कथा र पीडा समेटने यी कथाहरु इशान र सुरेन्द्र बजगाइँले उपलब्ध गराउनुभएको हो । आउनुहोस् हामीपनि वहाँहरुसंगै घुमौ साइकलमा ।

काठमाडौबाट प्रस्थानः २३ श्रावण २०७२ | टिकापुर प्रवेशः ३१ श्रावण २०७२


• जगता धवल (वैकुण्ठपुर, रूपन्देही)

“श्रीमान् राम्रो मिस्त्री थियो। उसैको मिहिनेतले हाम्रो २ कोठे घर बनेको हो । ३ फाल्गुण अगाडि उसको देहान्त भयो। त्यहाँदेखि मैले घर संहालीरहेको छु। यीनै छेगडीहरूको भरोसामा घर चलेको छ। छोराहरूले पनि यसमै सहयोग गर्छन्। गरीवका छोराहरूलाई जागिर पाऊन गाह्रो छ।”




• विनसरी केवत (बसन्तपुर, रूपन्देही)
वुढ्यौती (वृद्धभत्ता) भैरहवावाट छोरोले ल्याउँछ। छोरोलाई कत्ति वार भनेको थिएँ एउटा ठूलो गम्छा ल्याईदिनु। किन ठूलो गम्छा चाहियो मात्र भन्छ। यस्तै गम्छा खोजिरहेको थिएँ। वहुत नीक काम गर्नुभयो तपाइँले, भला हो।”

—-

• त्रीवेणी प्रसाद यादव (पकडिहवा, रूपन्देही)
“भार्इ मारिएको एक साल हुन लाग्यो, अस्ती आमा रातभरी रुनुभयो । भाइ विहिबारकै दिन मारिएको थियो । मैले राती ३ वजे डाँक्टर ल्याएर औषधि दिएपछि वहाँ बल्ल सुत्नुभयो।”

१९ वर्षीय भाइ सुनील यादवको लाश डण्डा खोलामा भेटिएको खवर मलेशियामा रहेका त्रिवेणीप्रसाद यादवले २ दिनपछि मात्र पाए । आन्दोलन अनियन्त्रित भएपछि मोर्चाले सवै आन्दोलनकारीलाई वेलहिया नाका तर्फ प्रस्थान गर्न आह्वान गरेको रहेछ त्यो दिन । त्यहाँ आन्दोलनरत विरोधी समूहसङ्ग एउटा समूहसंग झडप भएको र सुनील लगायत कयौं आन्दोलनकारीमाथि खुकुरी प्रहार भएको रहेछ । खवर पाएको केहि दिनभित्रै त्रिवेणी मलेशियाबाट फर्कें ।

“मलेशियामा ढाई साल राम्रै पैसा आउने काम गरिरहेको थिएँ तर भाइ वितेपछि परिवारको रेखदेख र किसानीमा सहयोग गर्न यहिं वस्नुपर्ने अवस्था अाइपर्यो । मलेशियामा कमाएको पैसा लगानी गरेर मैले आमालाई दिन कटाउन सजिलो होस् भनेर एउटा सानो ट्याङ्की पसल शुरु गरिदिएँ नभए आमा खाली दिनभर रोएर वस्नुहुन्थ्यो।”

त्रिवेणी गाउँमै केहि गर्न चाहँदा रहेछन् तर शिक्षकजस्तो विशिष्ट पेशामा पनि महिनाको ५ हजारभन्दा वढी तलव उनको हातमा कहिल्यै परेन । १३ वर्षकै उमेरमा विहे गरेका उनका ३ बच्चाहरू छन् । छानाबाट पानी चुहिने घर पूनर्निर्माण गर्ने दायित्त्व पनि उनकै काँधमा आएको छ । बा आमालाई हेर्नुपर्ने त छँदैछ । त्यसैले उनले जागिर खानुको साटो ‘फ्यान्सी’ पसल थाप्ने सोंच बनाएका रहेछन् । सोका लागि पनि कम्तिमा ४-५ लाखको लगानी चाहियो जुन उनिसङ्ग छैन । विकल्पमा ट्याङ्की पसललाई नै सुधार गर्ने वा किराना पसल शुरु गर्ने संभावनावारे उनले विचार गरिरहेका रहेछन् ।

“कसैले ५ लाख पाईन्छ भन्थे, कसैले १० लाख तर भार्इ बितेको १ वर्ष भईसक्यो अहिलेसम्म सरकारबाट केहि पाईएको छैन । अब त १ वर्ष भईसक्यो दिने भए दिओस् नदिने भए नदिओस् । पैसा माग्न जाँदैनौं, कुनै नेताले केहि दिन अघि आएर ५-६ दिनमा पैसा आउँछ भनेको थियो । भाइ फर्केर आउँदैन, के गर्ने?”

हामीलार्इ अाफ्नै भाइसरी व्यवहार गरेर घरमा खाना खान स्वागत गरेका त्रिवेणीले भने यी कुरा भिडियोमा भन्न सङ्कोच माने।

“अव एक्लो छोरो बाँकी छु, घरका ‘गार्जियन्’ डराउँछन् । एउटा छोरो त गयो अर्को पनि…. डर छ । भिडियोमा बोल्यो भने पनि अभिभावकको चित्त दु:ख्छ, बरु फोटो खिच्नुहोस्, कुरा टिप्नुहोस्।”


• छविलाल (बुटवल, रूपन्देही)
“मजबूरीको नाम महात्मा गान्धी” २ वर्षदेखि यो काम गर्दैछु । मान्छेलाई आफ्नै घरको फोहोर देख्दा त घृणा हुन्छ आफू त शहरभरिको फोहोरसङ्ग मिल्नुपर्छ तै पनि बिरामी परिन्न । अहिलेसम्म कुनै स्वास्थ्य समस्या आएको छैन, बानी परेकोले होला ।

दिनदिनै ४०० देखि ५०० घरसम्मको फोहोर उठाउनुपर्छ । सबेरै उठ्छु, दिनभर फोहोर उठाउँछु । दिउँसो घर (प्रगतिनगर) जान्छु र खाना खान्छु। त्यसपछि फेरि सङ्कलनमै हिँड्छु । आज श्रीमती पनि घर फर्कने बाटो मिलेकाले सङ्गै छिन् । फोहोर तिनाउ नदीको किनारमा पूल उतातिर फाल्ने व्यवस्था छ ।

धेरै कोशिश गरें छोराहरूलाई पढाउन सकिएन । तिनले मन पनि गरेनन् । अहिले जेठोले लुम्विनीमा झाडूपोंछा लगाउने काम गर्छ । कान्छो भर्खर १६ पुग्यो । उसले पनि यस्तै (फोहोर उठाउने) ठेला काम शुरु गरेको छ ।”

—-

• लिल बहादुर परियार (वोडगाउँ, कपिलवस्तु)
“खासमा हामी दमाई हौं, दमाई नराम्रो भनेर हो वा के हो सरकारले परियार बनाईदियो नागरिकतामा । तर ‘टेलरिङ्ग’ काम गरेर नै जीवन बिताईएको छ, नेपालगञ्जमा पनि र अहिले यहाँ पनि । विदेश जानुभन्दा त राम्रै हो नी ।

छोरोको पढाई त्यत्ति राम्रो छैन । आजकलको केटो वढी खेलमै ध्यान दिन्छ, तर मैले दवाव दिन्न । पछि गएर पढे पनि धस्सिनुपर्छ, नपढेपनि धस्सिनैपर्छ । यो उमेरमा दवाव किन दिने ? बाउ केका लागि ?”

—–

• विशनाथ (तामनगर, रूपन्देही)
आज यस समयसम्म फलाम, वोटल पाईएको छैन, धेरै घुमिसकें भेटिदैंन । खाना छैन, धेरै दिन हामी भोकै सुतेका छौं ।”


• रामदयाल ‘वीरगञ्जे’ कुशवाहा (चन्द्राैटा, कपिलवस्तु)
आज यस “मैले वीरगञ्जमा (गाडी मर्मत गर्ने) काम गरें, रोल्पामा काम गरें, भालुवाङमा काम गरें, चितवनमा काम गरें, सबैतिर काम गरेको छु । सवै ठाउँको भाषा संस्कृति बुझेको छु, आफ्नै ठान्छु। मलाई कहिँ जान डर लाग्दैन। डर लागेको भनेको जीवनमा एक पटक मात्र छ।

भालुवाङमा माओवादी युद्धको वेला काम गरिरहेको थिएँ । ठूला भीडन्त भएको वेला म त्यहीँ काम गरिरहेको थिएँ । कयौं लाश मेरै अगाडि उठाएर लगेको देखें । जब गोली चल्न थाल्थ्यो तब हामी भूईँमा सुत्थ्यौं, ‘टाइल’को घर थियो, ढ्वाररर~~~ गरेर हल्लिन्थ्यो ।

माओवादी आउँथ्यो पानी तताउ भन्थ्यो, त्यसपछि आर्मी आउँथ्यो, फेरि पानी तताउ भन्थ्यो अनि फेरि प्रहरी र सशस्त्र प्रहरी… त्यो बेला हो डर लागेको।

आज तपार्इं भालुवाङ पुग्नुहुन्छ, त्यहाँ सिधै सम्पर्क जानुहोस् र जीतवहादुरको होटल् सोध्नुहोस् । वीरगञ्जे कान्छोले पठाएको भनेपछि १०० रूपैयाँमा खाने वस्ने व्यवस्था गरिदिन्छन्, आफ्नो नाम त्यसरी चलेको छ । [हाँस्दै] अब तपार्इंले हाम्रो काठमाण्डौबाट आएर सम्मान गरेपछि सहयोग त गर्नैपर्यो।”

प्रस्तुत सामाग्रि सुरेन्द्र बजगाइँ र इशानको सहयोगमा सुयोग ढकालले तयार गर्नुभएको ।

श्रोत: हाम्रो पात्रो

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *