हडताल गरे बस कब्जामा लिएर चलाउन तयार बस्नू – गृहमन्त्री


सिन्डिकेट गरेर आम यात्रुहरुलाई दु:ख दिइरहेका यातायात व्यवसायीहरु विरुद्ध चर्को रुपमा प्रस्तुत भइरहेको नेपाल सरकारले हालै यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको छ।

यस निर्णयको विरोध गर्दै यातायात व्यवसायीहरुले देशव्यापी हडताल गर्ने कुरा गर्न  थाल्दै छन् भने गृहमन्त्री राम बहादुर थापाले भने हड्ताल भएमा सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएका छन्।

मंगलबारको मन्त्रिपरिषद निर्णय भए लगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्।

सिन्डिकेट तोडेपछि व्यवसायी आन्दोलनमा जान सक्ने अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई मर्का नपार्नको लागि प्रहरीलाई यस्तो निर्देशन दिइएको गृहमन्त्रीका प्रेस सहयोगी किरण भट्टराईले जानकारी गराए।

सार्वजनिक यातायात बन्द गर्ने जस्तो कार्य गरेमा चुप नबस्ने गृहसचिव प्रेमकुमार राईले बताए। उनले थपे ‘समितिहरुले हड्ताल गरेर यातायात बन्द गरे अब सिन्डिकेटवालाहरुलाई हिरासतमा राख्छौं।’

सरकारले अत्यावश्यक सेवा ऐन लगाएर बस नियन्त्रणमा लिन सक्ने अवस्था रहेको छ।

 

Loading...