भारतीय नाकाबन्दीको बिरोध नगरेको कारण जनमत घटेको देउवाको स्वीकारोक्ती


केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापती देउवाले भारतले दुई वर्षअघि लगाएको नाकाबन्दीको खुलेर विरोध गर्न नसक्दा पार्टीको जनमत घटेको कुरा स्वीकारेका छन्।

सम्बोधनमा देउवाले भने, ‘भारतले लगाएको नाकाबन्दीलाई हामीले नाकाबन्दी नै हो भनेर ठूलो स्वरमा विरोध गर्न सकेनौं। त्यसको असर चुनावमा देखियो। जनमत घट्यो।’

बैठकमा करिव आधा घण्टा बोलेका देउवाले सोही कारणले गर्दा नै संसदीय निर्वाचनमा मात्र नभएर स्थानीय निर्वाचनमा समेत निक्कै ठुलो नकारात्मक असर परेको बताएका छन्।

यसका साथै उनले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुनु पनि चुनावी पराजयको अर्को ठुलो कारण भएको दावी गरेका छन्।

चुनावी हार पछी सभापती देउवा पार्टी भित्र निक्कै आलोचित हुँदै आइरहेका छन्। रामचन्द्र पौडेल पक्षधरले देउवाले हारको अपजस पनि लिनु पर्ने कुरा चर्को रुपमा उठाए पनि उनले सो कुरा स्वीकारेका छैनन्।

Loading...