एकताको लागि हतारिन्नौं, विचार र नीति मिल्नेसँग मात्रै एकता गर्छौं : नयाँ शक्ती पार्टी
नयाँ शक्ती पार्टी, नेपालले आज प्रेस विज्ञप्ती जारी गर्दै तत्काल एकताको लागि नहतारिने र विचार, लक्ष्य र नीति मिल्नेसँग मात्रै एकता र ध्रुवीकरण गर्ने नीति रहेको जनाएको छ।
पार्टीले स्वाभाविक रुपमा अन्य राजनीतिक दल तथा नेतृत्वहरुसँग छलफल र भेटघाट गरेको छ। तर ती भेटघाट र छलफलको उद्देश्य बृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु मात्र रहेको बताएको छ।
नयाँ शक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो। ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल नहुने जनाएको छ।
नयाँ शक्ती पार्टी, नेपाल निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ भन्ने विश्वास गर्दछ। तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त भएको पार्टीको निर्क्योल छ।
वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकमा भएको निर्णयबमोजिम जारी गरेको प्रेस विज्ञप्तीमा नयाँ शक्ती पार्टीले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने कुरा स्पष्ट पारेको छ।