विवेकशील साझा पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने, यस्तो छ प्रेस विज्ञप्ती


प्रदेश ३को प्रदेश सभामा ३ सांसद भएको विवेकशील साझा पार्टीले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। संसदीय दलका नेता रमेश पौड्यालले प्रेस विज्ञप्ती जारी गर्दै वर्तमान अवस्थामा निर्वाचन प्रक्रियामा सहभागी नहुने गरिएको कुरा जनाएका छन्।

प्रस्तुत छ उक्त प्रेस विज्ञप्तीको पुर्ण पाठ:

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धमा विवेकशील साझा पार्टी, संसदीय दलको प्रेस विज्ञप्ती

======================================================

विवेकशील साझा पार्टीले आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गरि सोहीअनुसार आवश्यक निर्णय लिन प्रदेश सभा संसदीय दल (प्रदेश ३) लाई अधिकार प्रत्यायोजन गरेको सन्दर्भमा संसदीय दलको २८ फागुन २०७४ मा बसेको बैठकले निम्न बमोजिम निर्णय गरेको छ।:-

१. नेपाल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको ब्यबस्था गरिनु उपयुक्त हुन्छ भन्ने विवेकशील साझा पार्टीको धारणा रहिआएको छ र सोही धारणा गत प्रादेशिक र संघीय निर्वाचनका लागि मतदाता समक्ष प्रस्तुत चुनावी प्रतिबद्धता-पत्रमा समेत उल्लेखित छ।

२. संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ। तर हाम्रो सन्दर्भमा राष्ट्रपतिका कतिपय निर्णयहरु पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रस्टै देखिने गरेको छ।

३. प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको छ। अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ।

४. उपरोक्त कारणले गर्दा विवेकशील साझा पार्टी, संसदीय दलले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।

रमेश पौड्याल
नेता
प्रदेश सभा संसदीय दल (प्रदेश ३)
२९ फागुन २०७४

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *