भारत भ्रमणमा रहेका प्रम ओलीले ‘द हिन्दु’मा दिए यस्तो अन्तरवार्ता (नेपाली अनुवाद)


प्रधानमन्त्री केपी ओली अहिले भारत भ्रमणमा रहेका छन्। यस क्रममा उनले भारतको चर्चित राष्ट्रीय पत्रिका ‘द हिन्दु’मा दिएको यो अन्तरवार्ता निक्कै गर्व गर्न लायकको रहेको छ।

प्रस्तुत छ अंग्रेजी भाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद:

 

तपाई यस अघि २०१६मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा आउनु भएको थियो। यस भ्रमण प्रति तपाइको के कस्तो आशा रहेका छन्, र यो भ्रमण कसरी भिन्न हुनेछ?

मेरो अघिल्लो भ्रमणको अवस्था र अहिलेको अवस्थामा नै पनि भिन्नता छ। त्यो समयमा संविधानको विषयमा रहेको फरक मतहरु, र नेपालका केही तत्वहरुको कारण हामीबीच असमझदारीहरु थिए। तर अहिले, संविधान घोषणा भएको साढे २ वर्ष बितेको छ र हामीले ३ ओटै तहको निर्वाचन संपन्न गरेका छौं। हाम्रो सरकार निर्वाचित भएको छ, र हामीसँग बलियो बहुमत छ। हामीले संसदमा ८८% को विश्वासको मत पाएका छौं। धेरैले सोच्थे कि मधेसी दलहरुले मलाई समर्थन गर्दैनन्, तर उनीहरुले पनि मलाइ सहयोग गरे। र प्रतिपक्षमा रहेका सांसदहरुले पनि संसदीय प्रकृया भएकै कारणले मात्र मलाई समर्थन नगरेका हुन्, नत्र मलाई नै भोट हाल्थे।

मेरो यो भ्रमणको अपेक्षाहरुको बारेमा कुरा गर्दा, म स्पष्ट नै पार्न चाहन्छु। हामी छिमेक नीतिको सुरुवाती बिन्दु नै मित्रता हो। यदी तपाइँ मलाई नेपालले इन्डियाबाट चाहेको ३ कुरा के-के हुन् भनेर सोध्नुहुन्छ भने, म  भन्छु, पहिलो कुरा मित्रता हो, दोस्रो कुरा पनि मित्रता हो र तेस्रो पनि मित्रता नै हो। हामीले हाम्रो राजनीतिक संघर्ष पुरा गरेका छौं, तर अब नेपालको विकास र संवृद्धीको चरणमा छौं।

तपाइले यो कुरा मंगलबार संसदमा भन्नुभएको थियो। तर तपाइले यो पनि भन्नु भएको थियो की, तपाइँ नेपालको हित विपरितको कुनै पनि सन्धीमा हस्ताक्षर गर्नुहुन्न – यसको खास अर्थ के हो? के यसले इन्डियाको मनसायप्रतिको शंकालाई प्रस्तुत गर्दछ? के बिगतका तिक्तता अझै हामी प्रति प्रस्तुत गरिएको हो?

होइन। इतिहास, आकार, जनसंख्या र विकासका आधारमा हामी २ देशमा भिन्नता छन्। र हाम्रो मतभेदले पनि यही कुरा प्रतिबिम्बित गर्दछ। मैले म देशको हित विपरितको कुनै पनि सन्धीमा हस्ताक्षर गर्दिन भनें, किनकी यही नै सत्य हो। केही सन्धीहरु छन् जुन नेपाली जनताको वर्तमान आवश्यकता तथा आपसी चासोको आधारमा आपसी सम्मानको लागि सच्चिनु पर्छ वा संसोधन हुनु पर्छ। धेरै वर्ष अघि मैले १९५०को सन्धीलाई पुनरावलोकन गर्ने भन्ने कुरा गर्दा मान्छेहरुले मलाई प्रश्न सोध्थे। तर मैले भन्थें, सन्धी भित्रका कुराहरुलाई नहेर्ने हो भने पनि त्यो सन्धीमा हस्ताक्षर गर्नेहरु त भारतको राजदुत र नेपालको प्रधानमन्त्री थिए नि। त्यो कुराले हाम्रो स्तरमा रहेको भिन्नतालाई स्पष्ट रुपमा देखाउँछ। यस्तो असमान अवस्थाले इण्डियालाई पनि के फाइदा गर्छ र? तर यसले नेपाली जनतालाई दुख्छ र पटक पटक चिमोट्छ। त्यसैले, यस्ता सन्धीहरुलाई पुनरावलोकन र संसोधन गर्नै पर्छ।

त्यसो भए म फेरी सोध्छु, के विगतका तिक्तताहरु अझै पनि बाकी छन् त?

 केही समस्याहरु नै छैन भन्नुको तुक नै छैन। हामी छिमेकी हौँ, यदी तपाइको बच्चा मेरो घरमा पटकपटक आएर घरका सामान यताउता गरेमा, केही फ़ुटाएमा, तपाईलाई कस्तो महशुस हुन्छ? हामी छिमेकीहरु हौँ, त्यसैले, यस्ता कुराहरु हुन सक्छन्। हाम्रो सिमाहरु खुल्ला छन्।

के बच्चा बिम्बबाट तपाइले भारतीय हस्तक्षेप तर्फ सङ्केत गर्नु भएको हो? तपाइले विगतमा पनि तपाइको सरकार २०१६मा ढलेको बेलामा इण्डियाले तपाइको सरकारमाथी हस्तक्षेप गर्यो भन्नु भएको थियो, र तपाइले भारतको लागि नेपाली राजदुतलाई निलम्बन पनि गर्नु भएको थियो नि?

यदी यस्ता कुरा हुन्छन् भने यी कुरा सच्चिनै पर्छ। हामी भन्न सक्दैनौं कि सबै कुरा सही छन्। हामी यस्ता तथ्यहरुलाई अस्विकार गर्न वा नजरअन्दाज गर्न सक्दैनौं। बरु हामीले हामी बिचको समस्याहरुलाई स्वीकार गर्नु पर्छ, सच्याउनु पर्छ र त्यसपछी पछाडी फर्केर हेर्नु हुन्न ताकी राम्रो भविष्य प्राप्त अगाडी बढौं।

तपाइको भ्रमणको बिषयमा नै फर्किऔं, तपाइको भन्नु भएको छ की तपाई नयाँ सन्धीहरुमा हस्ताक्षर गर्नु भन्दा पनि तपाइँ पुराना परियोजनाहरूको समाप्तीमा जोड दिनुहुन्छ। के तपाइले पंचेश्वर बाँध परियोजना वा हुलाकी राजमार्ग आदी परियोजनाहरुमा भइरहेको ढिलाई तर्फ संकेत गर्नु भएको हो?

मलाई लाग्छ वर्तमान भारतीय सरकार पनि यी परियोजनाहरु पुरा गर्न नै चाहन्छ। दुवै पक्षबाट हामी हाम्रा प्रतिबद्धतामा वृद्धी चाहन्छौं।

पंचेश्वर (बहुउद्देश्यीय जलविद्युत) र महाकाली परियोजना १९९६ मा हस्ताक्षर भएका थिए। २२ वर्ष बितेको छ एक परियोजनाको लागि, र त्यसैले पनि हामीले सोध्नुपर्छ, हामी के गर्दै छौं? समयले हामीलाई कुर्दैन, र एउटा संस्कृत भनाईले भन्छ यदी हामीले केही दिनुछ वा गर्नुछ र यदी तपाइले त्यो कुरा समयमा नै गर्नु हुन्न भने समय आफैले त्यसको महत्वलाई नष्ट पार्छ। जब पंचेश्वर संझौतामा हस्ताक्षर भयो, म निक्कै युवा उमेरको थिएँ। यी २२ वर्षमा म बुढो भएँ, तर यो परियोजना बन्न सकेको छैन।

धेरैले भन्छन् तपाई र मोदीको उस्तै शैली छ। तपाईहरु दुवै जनाले केही मान्छेहरुले उग्र-राष्ट्रवादी अभियान भनेर चिन्ने अभियान चलाउनु भयो। तपाइँ पनि आफ्नै पार्टीमा वा सरकारमा धेरै निकटतम मित्र नभएको व्यक्तीको रुपमा हेरिनु भएको छ। के तपाइँ यसमा सहमत हुनुहुन्छ?

मलाई लाग्छ हामी बीच धेरै समानता छन्, तर धेरै भिन्नता पनि छन्। पक्कै पनि मोदीजी मोदीजी हुन् र म म नै हुँ। त्यसैले, हामीबीच सिद्धान्त वा राजनीति वा रुचीमा भिन्नता होलान तर हामी दुबै जना आ-आफ्नो देश, जनता र मानवता प्रति प्रतिबद्ध र कटिबद्ध छौं। हामी दुवै भ्रष्टाचार विरुद्ध लड्नको लागि प्रतिबद्ध छौं, र विकासलाई प्रवर्धन गर्दछौं। जब हाम्रो मित्रतामा समस्या थियो (नाकाबन्दी ताका), त्यसबेलामा पनि न म भारतको विरुद्ध थिएँ न उहाँ नेपाल विरुद्ध हुनुहुन्थ्यो। हामी दुवै जना नेपाल-भारत मित्रतालाई बलियो बनाउन नै चाहन्छौं।

तपाइँ भन्दै हुनुहुन्छ की मतभेद नीतिमा थियो, व्यक्तिगत थिएन। उहाँले तपाईलाई फोन गर्नु भएको थियो जब तपाइले फेब्रुअरीमा चुनाव जित्नु भयो। के तपाइँ मोदीको भ्रमणको अपेक्षा गर्दै हुनुहुन्छ?

हो। म उहाँको भ्रमणको अपेक्षा गर्दै छु, र त्यो पनि कुनै अनावश्यक ढिलाई बिना नै।

यो बर्ष नै?

हो, अवश्य।

तपाइको विदेश नीतिको बारेमा कुरा गर्दा, तपाइले इन्डिया र चिनसँग ‘समदुरी’ राख्ने सङ्केत गर्नु भएको छ। के यसको अर्थ इन्डियासँग दुरी राख्ने भन्ने हुँदैन र, किनकी इन्डिया र नेपाल सधैँ धेरै नै निकट रहेका छन्?

मैले कहिल्यै पनि त्यो शब्दको प्रयोग गरेको छैन। म बरु निकटताको बारेमा बोल्छु। एक सार्भभौम देशको रुपमा नेपालको विदेश नीति सधैं स्वतन्त्र छ, र हामीले सार्वभौम र स्वतन्त्र देशको रुपमा नै व्यवहार गर्छौं। हामी सार्वभौम समानता र हितको बारेमा नै कुरा गर्छौं। हाम्रा छिमेकीहरु बीच प्रतिस्पर्धा हुन सक्छ, तर हाम्रो कुनै सँग पनि प्रतिस्पर्धा छैन। हामी हाम्रो छिमेकीहरु विकसित, संवृद्ध र शान्तीपूर्ण होस् भन्ने चाहन्छौं ताकी हामी कुनै चिन्ता बिना सुत्न सकौं।

तपाइँ अघिल्लो पटक प्रधानमन्त्री हुँदा तपाईले बेजिंगमा १० बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भयो जसले अभुतपुर्व तरिकाले बेल्ट एण्ड रोड इनिसियटिभको हिस्साको रुपमा नेपाललाई सडक पुर्वाधारहरु, रेलामार्गहरु, बन्दरगाहहरुसँग जोड्दछ। के तपाई ती संझौताहरुलाई पुन: अगाडी बढाउनु हुन्छ?

यो २१औं शताब्दी हो, र सार्वभौम राष्ट्रहरू बिचको संबन्ध पनि समयसँगै अद्यावधिक र विकसित हुनुपर्छ। हाम्रो विदेश नीति संयुक्त राष्ट्र सँगको चार्टर,असंलग्न राष्ट्रहरुको चार्टर, पंचशील तथा वसुधैव कुटुम्बकमको बिचारमा आधारित छ जुन कुरा मोदीजी पनि भन्नुहुन्छ। तपाइँ अभुतपुर्व भन्नुहुन्छ… तर धेरै कुरा हुन्छन् जुन पहिला भएनन्। जेम्स वाट भन्दा अगाडी इन्जिन थिएन। पहिले न गुगल थियो न इन्टरनेट नै… त्यसैले, हामीले अहिले पनि बित्ता नापेर हुन्न। हामीसँग २ छिमेकी छन्, हामी ‘एक-देश परिबेष्ठित’ होइनौं। हामी ‘दुई-देश परिबेष्ठित’ हौँ। अझ भू-परिबेष्ठित राष्ट्रको सट्टामा जमिनबाट जोडिएका राष्ट्रको रुपमा हाम्रो बुझाइलाई परिवर्तन गर्नुपर्छ। हामी हाम्रा दुवै छिमेकी मार्फत समुन्द्र सँग जोडिन चाहन्छौं। यस कारण, हिन्द महासागर हाम्रो हो र प्रशांत महासागर पनि हाम्रै हो, किनकी महासागर कुनै देशको हुन्न। यसै आधारमा म निश्चिन्त छु की मेरो परिकल्पना अनुसारको नेपाली झन्डा सहितको व्यापारिक पानीजहाजको एक दिन महासागरहरुमा हुनेछन्।

यदी तपाइले इन्डियाको बेल्ट एण्ड रोड इनिसियटिभ प्रतिको चासो वा इन्डिया-चिन प्रतिद्वंद्वीतालाई पन्छाउनु भयो भने पनि नेपालसँग अर्को चिन्ताको विषय पनि त छ नि, ऋण जाल। पोखरा विमानस्थल परियोजनालाई कहिलेकाहीं श्रीलंकाको हम्बनटोटा परियोजना सँग तुलना गरिन्छ… त्यस्तो सेतो हात्ती जसको लागि नेपालले कहिल्यै मूल्य चुकाउन सक्दैन। तपाइँ नेपाललाई कसरी ऋण जालबाट जोगाउनु हुन्छ?

‘जाल’ शब्दको प्रयोगमा नै मेरो आपत्ती छ। त्यो शब्दले भारतीय धारणा र २ देश बिचको प्रतिद्वंद्वीतालाई झल्काउछ। उदाहरणको लागि, जब इन्डिया र पाकिस्तान बीच समस्याहरु हुन्छन्, हामी पाकिस्तानले प्रयोग गर्ने शब्दहरु प्रयोग गर्न सक्दैनौं न त त्यहाका विद्वानले इन्डियाको बारेमा बोल्ने कुरा बोल्न सक्छौं।

के तपाइँ भन्दै हुनुहुन्छ की तपाइँ ऋण जालको बारेमा चिन्तित नै हुनुहुन्न?

हो, म चिन्तित छैन। मैले भने नि, म हाम्रो सार्वभौमिकता वा हाम्रो राष्ट्रीय हित विपरितका कुनै पनि संझौता गर्दिन। हामी हाम्रा छिमेकीहरुको संवेदनशीलता प्रति सजग र सचेत छौं। तर हामी उनीहरु बिचको प्रतिस्पर्धामा प्रवेश गर्दैनौं।

तपाईले इन्डिया र पाकिस्तानको बारेमा उल्लेख गर्नुभयो। निर्वाचन जितेपछी तपाइको पहिलो पाहुनाको रुपमा पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासी हुनुहुन्थ्यो जसले तपाइँसँग यो वर्ष सार्क सम्मेलन आफ्नो देशमा गर्न चाहेको कुरा भन्नुभयो। के तपाइँ प्रधानमन्त्री मोदीसँगको भेटमा सार्कको मुद्दा उठाउनु हुनेछ?

हो, पाकिस्तानी प्रधानमन्त्री मलाई बधाई दिन आउनुभएको थियो, र मैले उहाँलाई त्यसरी नै स्वागत गरें जसरी म कुनै पनि हाम्रा छिमेकीहरुलाई स्वागत गर्छु। अब सार्कको हाम्रो लागि निक्कै महत्वपुर्ण भूमिका छ, किनकी यसले विगतमा पनि दक्षिण एसियाली देशहरुबीचको मतभेदलाई कम गर्न भूमिका निभाएको छ। यो हाम्रा सबै नेताहरुलाई एक्कै ठाउमा भेला गर्ने सर्वोत्तम मंच हो र यो हाम्रो बिकासलाई सहज बनाउने साधन पनि हो। हाम्रो चाहना अनुरुपको काम यसले गर्न नसकेको भएका पनि, सार्क रहनु पर्छ। हामी सार्कलाई पुन: जगाउनुपर्छ र सम्मेलन गर्नु पर्छ भन्ने बिचार राख्छौं।

नेपाली राजनीतिको बारेमा कुरा गर्दा अझै पनि यो निक्कै महत्वपुर्ण बिन्दुमा नै छ। तपाइँसँग अहिले प्रमुख म्याण्डेट छ, तर अझै पनि धेरै कुरा माओवादी पार्टी र दाहाल (प्रचण्ड)सँगको स्थिरतामा नै भर पर्छ जो तपाइको अघिल्लो सरकारमा तपाइँबाट अलग्गिएका थिए। तपाइँ यो पटक कत्तिको सुरक्षित हुनुहुन्छ?

एउटै घटनाहरु दोहोरिदैनन। प्रश्नहरु उठेका छन् किनकी हामीले हाम्रो पार्टीहरुको एकिकरण गरिसकेका छैनौं, तर हामी निरन्तर भेटीरहेका छौं र हामीले एप्रिल २२मा एमाले र माओवादीको एकीकरण हुने निर्णय गरेका छौं। सबै जसो डकुमेन्ट तयार भइसकेका छन् र हामी बीच अब निक्कै थोरै मात्र मतभेद वा शंकाहरु बाँकी छन्। त्यसैले, हामी एक हुनेमा कुनै शंका नै छैन, र यहाँ कुनै रिभर्स गियर छैन। यो जेट प्लेन जस्तै हो, कुनै रिभर्स गियर प्रयोग गरिन्न।

संक्रमणकालीन न्याय अर्को त्यस्तो विषय छ। के तपाइँ अझै पनि माओवादीहरु तथा सेनालाई सशस्त्र द्वन्दको दशकमा भएका युद्ध अपराधहरुको लागि जवाफदेयी हुनुपर्ने  बिचार राख्नुहुन्छ?

हामीले लगभग शान्ती प्रक्रिया पुरा गरेका छौं, केही थोरै कामहरु मात्र बाँकी छन्। ती कामहरुलाई राजनीतिक प्रयोजनको लागि प्रयोग गरिनु हुन्न। मेलमिलापको प्रक्रिया बनिसकेको छ। हामीले माओवादी लडाकुहरुले हतियार बिसाएको र सेनामा प्रवेश गरेको देखेका छौं। यसको मतलब हुन्छ यो प्रक्रिया एउटा निष्कर्षमा पुगेको छ। दुई ओटा आयोगहरु छन् र सत्य निरोपण तथा मेलमिलाप आयोगको काम चल्दै छ, र उनीहरुले छिट्टै आफ्नो प्रतिवेदन बुझाउने छन्।

के मधेसी दलहरु कहाँ पुग्नु हुन्छ? तपाइले प्रदेश २को सरकारको लागि संघिय समाजवादी फोरम र राजपालाई सहयोग गर्ने र उनीहरु तपाइको केन्द्रीय सरकारमा जोडिने विषयमा छलफलहरु भएका थिए, तर अहिले सम्म त्यसो हुन सकेको छैन।

हो, उनीहरु सही समयमा सरकारमा जोडिने छन्, र निक्कै गहिरो छलफलहरु भैरहेका छन्।  केही आन्तरिक कारणहरुले गर्दा हामीले अहिले नै उनीहरुलाई सरकारमा सामेल गर्न सकेका छैनौं, तर उनीहरु सरकारमा आउनेछन् भन्नेमा चै म विश्वस्त छु।

इन्डियाले समर्थन जनाएको उनीहरुको मागको के हुन्छ त, जुन संविधान संशोधन गरि मधेसीहरुको थप प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छन्?

संविधान अहिले पूर्ण छ, र यो देश भरमा सर्व-स्वीकार्य छ। अघिल्लो वर्ष निर्वाचनको वर्ष थियो, र ७०-८०% जनताहरुले निर्वाचनमा भाग लिए। त्यसैले, संविधानको स्वीकार्यता विवादको विषय नै होइन। न कुनै वादविवाद, न कुनै प्रश्न।
पक्कै पनि केही छन् हो आफ्ना एजेण्डाहरु जीवित राख्न चाहन्छन्, तर हामीलाई थाहा छ सत्य के हो। देशको लागि, विकासको लागि र जनताको चाहना अनुसार संविधान कुनै पनि बेलामा संशोधन हुनसक्छ। अहिले न हामी संसोधन चाहन्छौं, न मधेसी दल नै। त्यसैले, यो विषयमा कुरा नगर्नु नै बेस हुन्छ।

के भारतले पनि यस विषय उठाउन छोडेको थियो, जव विदेशमन्त्री स्वराजले त्यहाँ भरमा गरेकी थिइन्?
म सँग अहिले सम्म कसैले पनि यो कुरा गरेको छैन। (जबदेखि म पुन: निर्वाचित भएँ)।

Loading...