सिण्डिकेट पक्षधर ७१ यातायात व्यवसायीहरू परे पक्राउ


नेपाल सरकारले सिन्डिकेट पक्षधर ७१ यातायात व्यवसायीहरुलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो गृहमन्त्री रामबहादुर थापाले पक्राउको निर्देशन दिए पश्चात प्रहरीले पक्राउ गर्न सुरु गरे पश्चात अहिलेसम्म १८ जिल्लाका ७१ जना यातायात व्यवसायीहरु पक्राउ परिसकेका छन्।

शुक्रबार दिउँसो प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई काठमाडौँको भृकुटीमण्डपबाट पक्राउ गरेको थियो। त्यस्तै, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहा बुटवलबाट पक्राउ परेका छन्।

प्रहरीले रुपन्देहीबाट १० जना, सुनसरीबाट ९ जना, झापाबाट ८ जना, बाराबाट ७ जना,  रौतहट, खोटाङ र लमजुङबाट ५/ ५ जनालाई पक्राउ गरेको छ।

यसका साथै प्रहरीले उदयपुर, सप्तरी,  बारा, मकवानपुर, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, सिन्धुली, कपिलवस्तु, कालिकोट र कैलालीबाट पनि यातायात व्यवसायीहरुलाई पक्राउ गरेको छ|

पक्राउ परेका व्यवसायीहरुले बस चलाउने र सिण्डिकेट नमान्ने प्रतिवद्धता जनाएपछी मात्र छाडिने गृह मन्त्रालयले जनाएको छ।

Loading...