समर्थ नेपालद्वारा पहिलो इम्प्याक्ट हाइक ढोक्सानमा सम्पन्न


समर्थ नेपालले आफ्नो पहिलो इम्प्याक्ट हाइक मार्च ३१मा सम्पन्न गरेको छ। ३० जना सहभागी रहेको उक्त हाइक करिब ९ किलोमिटरको थियो र काठमाडौँको शंखरापुर नगरपालिका नगरपालिकाको तामाङ् बस्ती हुँदै अगाडी बढेको थियो।

समर्थ नेपालले गर्ने जनचेतना कार्यक्रमहरु तथा विभिन्न नसर्ने रोगहरु जस्तै क्यान्सर, मृगौला रोग, मुटु रोग, आदीको स्क्रिनिंग कार्यक्रमको लागि आर्थिक श्रोत जुटाउनु नै उक्त हाइकको मूल उद्देश्य रहेको थियो।

“समर्थ नेपालले जनता क्लिनिक नामक आफ्नो कार्यक्रम मार्फत विभिन्न स्वास्थ जनचेतना तथा रोग परिक्षण अभियानहरु संचालन गर्दछ। पहिलो इम्प्याक्ट हाइक अगाडी बढेसँगै हामीले स्तन तथा पाठेघरको मुखको क्यान्सर संबन्धी जनचेतनामुलक कामहरु गर्ने लक्ष्य राखेका छौं।” संस्थाका सह-संस्थापक दिब्यस गिरीले बताए।

impact hike

इम्प्याक्ट हाइकका सहभागीहरु बिहानै थापागाउँ स्थित प्रेसिडेन्सियल बिजिनेस स्कुलको प्राङ्गणमा जम्मा भए र खाजा खाई बसमार्फत जहरसिंह पौवा पुगे। त्यहाँबाट स्थानीय गाइड राजमान स्याङ्बोले सहभागीहरुलाई जंगलको पदमार्ग हुँदै चिहानडाँडा पुर्याए। चिहानडाँडा त्यस क्षेत्रको सबै भन्दा अग्लो बिन्दु भएकोले त्यहाँबाट सुन्दर हिमशृंखला, काठमाडौँ उपत्यका तथा सम्पूर्ण ढोक्सान-कार्तिके कोरिडोरको दृश्यावलोकन गर्न सकिन्छ। चिहानडाँडाबाट आल्चौर हुँदै सहभागीहरु ढोक्सान पुगे र त्यहाँको सामुदायिक विद्यालयको भ्रमण गरे। त्यस पश्चात कार्तिकेमा पुगी जहरसिंह पौवामा नै फर्किए र बिहान ७ बजे सुरु भएको हाइक बोलुका ५ बजे समापन भयो।

समर्थका स्वास्थ्य अभियानहरुलाई आर्थिक श्रोत जुटाउनुको साथसाथै, उक्त इम्प्याक्ट हाइकले स्थानीय पदमार्गको प्रवर्धन पनि गर्यो जसबाट पर्यटकीय क्षेत्रको रुपमा विकासित हुन खोजेको यस क्षेत्रका जनता लाभान्वित हुने छन्। सहभागीहरुलाई समुदायभित्र लगेर त्यहाँ भइरहेका स-साना प्रयासहरु जस्तै होम-स्टे सुविधा, इट्टा उद्योग, आदी देखाइयो। यसका साथै, यस हाइकले सहभागीहरुमा पनि नयाँ पदमार्गमा हाइकको अविस्मरणीय अनुभवको सिर्जना गर्यो।

impact hike

इम्प्याक्ट हाइकलाई स्मार्टटेक सोलुसन, खल्ती, अबरी, आइटी ग्यामुट, अम्युज मिडिया, स्पाइर्यालोजिक्स इन्स्टीच्युट, अफरिंग ह्याप्पीनेस, प्रेसिडेन्सियल बिजिनेस स्कुल, नेसनल कलेज, आवरण स्किन, हेयर क्लिनिक, भाटिका इन्टरनेसनल होटेल तथा नेपाल नेसनल हस्पिटलले सहयोग गरेका थिए। नयाँ प्रहर तथा ग्लोकल खबर यस कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहेका थिए।

Loading...