२०८०, २५ जेष्ठ बिहीबार

बस्नेत भर्सेस भण्डारी: एमाले फुट्यो दुवै अध्यक्ष

Share:

कार्तिक ६ काठमाडौं । सुनसरी जिल्लामा गत पुस ५ पछि समानान्तर जिल्ला कमिटीहरू रहेकोमा ,नेकपा फुटेर एमाले बनिसकेपछि रमेश बस्नेतको अध्यक्षता एउटा जिल्ला कमिटी बन्यो । केपी ओली समूहबाट रेवतीरमण भण्डारीको अध्यक्षतामा फेरी अर्को समानान्तर जिल्ला कमिटी बन्यो । माओवादीसँग पार्टी एकता हुनुपूर्व २०७५ जेठ २ अघिको अध्यक्ष रमेश बस्नेत थिए ।

 

तर, २०७७ पुस ५ गते केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाभित्र विवाद सुरु भएको हो । र, त्यहीबेला ओली पक्षले रेवतीरमण भण्डारीको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन समेत गरेको थियो ।

उता अध्यक्ष रमेश बस्नेत नेतृत्वको कमिटीचाहिँ संसद् विघटनविरोधी आन्दोलनमा होमियो । २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा फुटाएपछि ओली पक्षले रेवतीरमणलाई नै आधिकारिक अध्यक्ष दाबी गर्दै आएको छ र उसले रमेश बस्नेतको कमिटीलाई मान्यता नदिने बताउँदै आएको छ ।

उता बस्नेत पक्षले भने १० बुँदेलाई मान्यता दिनुपर्ने र जेठ २ पूर्वकै कमिटीलाई मान्यता दिनुपर्ने बताउँदै आएको छ । ओली पक्षका नेताहरूले चाहिँ १० बुँदे सुनसरीमा लागू नहुने र रमेश बस्नेतलाई कुनै हालतमा अध्यक्ष नमान्ने बताउँदै आएका छन् ।

ओली पक्षले मान्यता नदिएपछि माधव नेपालको पार्टीमा नगई एमालेमै बसेका सुनसरीका तेस्रो धारका एमाले नेताहरू बिलखबन्दमा परेका छन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आए पछि नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको हो। ओली समूह र तेस्रो धारका नेताहरूबीच एकले अर्कालाई आरोप लगाएर वक्तव्य निकाल्ने होडबाजी नै चलेको छ ।

कात्तिक २ गते नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीका नामबाट एउटा प्रेस विज्ञप्ति जारी भयो, जसमा कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख थियो ।

त्यसैगरी भण्डारीको अध्यक्षतामा बसेको सो बैठकले पार्टी नेता ओम कोइरालाको निधनप्रति शोक व्यक्त गर्ने र बाढी पीडितहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको थियो ।तर, अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठक अवैधानिक एवं विधानविपरीत भएको भन्दै तेस्रो धारका नेताहरूले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: २०७८, ६ कार्तिक शनिबार ०५:१४ at 5:14 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप