कात्तिक ७ काठमाडौं । बाढीपहिरो पीडितको उद्धार तथा राहतको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष राहत प्याकेज ल्याउने भएका छन्। बाढी, पहिरो तथा डुबान परेर धेरै धन तथा जनको क्षति बेहोर्नु परेकोले पीडितका लागि विशेष राहत प्याकेज ल्याउने बताएका छन् ।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीहरुले गरेको कामको प्रशंसा गरे । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
सुरक्षा प्रमुखसहित स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिँदै उनले विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनुपर्ने।
बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको उनको भनाइ छ ।प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए । ‘
अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भएपनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौं, बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानका लागि व्यवस्था गर्नेर्छौं,’ उनले भने, ‘सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’