कार्तिक १० काठमाडौँ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय गरिएकाे छ। दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेशसभा बैठकमा विश्वासको मतमा मतदान गर्ने तयारी सबै पूरामतदानका लागि सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने छुट्टाछुट्टै कक्ष व्यवस्था गरिएको छ भने अधिकृतसहितका कर्मचारी खटाउने तयारी रहेको प्रादेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव यही कात्तिक ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो।यसअघि विश्वासको मतका लागि मतदान गर्न दुईपटक मिति तोकिए पनि सत्तारूढ एमाले र विपक्षी गठबन्धनबीच विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक स्थगन गरेका थिए।
प्रदेशसभा सदस्यको अंकगणित
१०९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ। तर सत्तापक्ष एमालेका ४३ जना मात्र सांसद छन्।
उता विपक्षी गठबन्धनतर्फ भने माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्। यस्तै मुख्यमन्त्री शाक्यलाई मत नदिने बताइसकेको विवेकशील साझाका ३ तथा कतै नखुलेका नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २/२ जना सांसद छन्।
विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिसकेको छ।
बागमती प्रदेशमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्।
एमालेका १३ जना प्रदेश सांसदले माधव नेपालद्वारा नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन्।
गत भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री हुन्।